logo
२०८१ मंसिर ९ आईतवार



सन्दीप लामिछाने चम्के पनि जमैकाको लगातार दोस्रो हार

खेलकुद |


सन्दीप लामिछाने चम्के पनि जमैकाको लगातार दोस्रो हार


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ७ गते । क्यारेबियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछाने चम्के पनि उहाँ सम्मिलित टोली जमैका तलावाजले हार बेहोरेको छ । जमैकाको लगातार यो दोस्रो हार हो । हारसँगै अङ्कतालिकामा जमैका पाँच स्थानमा झरेको छ ।
गायना अमेजनले प्रस्तुत गरेको ११९ रनको सामान्य लक्ष्य पछ्याउँदै जमैका सात विकेटको क्षतिमा मात्र १०४ रन जोडन पायो । उसको पारीमा सातौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका आन्द्रे रस्सैलले अविजित रहँदै ५२ रनको योगदान दिनुभयो । यद्यपि टोलिलाई जित दिलाउन उहाँको प्रयास असफल भयो । कप्तान रबमन पावेलले २३ तथा आसिफ अलीको १४ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफलसमेत छुन सकेनन् ।
गायनको बलिङमा क्रिस ग्रीनले सर्वाधिक दुई विकेट लिनुभयो । उहाँले तीन ओभरमा मात्र दश रन खर्चेर दुई विकेट लिनुभयो । इमरान ताहिरले चार ओभरमा २६ रन खर्चेर एक विकेट लिँदा अहमद नड्ड, नवीन ऊल हक, कीमो पौल र चन्द्रपौल हेमराजले एक एक विकेट लिनुभयो ।
यसअघि गायनाले टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको थियो । पाँच ओभरमा ५६ रन बनाएर उत्कृष्ट सुरुवात गरेको गायनाका मध्यक्रमका ब्याट्सम्यान जम्न नसक्दा ऊ खेल सकिन पाँच बल बाँकी छँदा मात्र ११८ रनमा समेटिन पुग्यो ।
ओपनर ब्रान्डन किंगले सर्वाधिक २९ तथा चन्द्रपौल हेमराज र रोस टेलरले सामान २१ रनको योगदान दिनुभयो । जमैकाका लागि सन्दीपले चार ओभर बलिङ गरेर मात्र आठ रन खर्चिँदै दुई विकेट लिनुभयो । खेलको म्यान अफ द म्याच गायनाका नवीन ऊल हक घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?