गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिगको सेमीफाइनलमा हार बेहोरेको छ । उपाधिका दाबेदार ट्रिनबागो नाइट राइडर्सले एकतर्फीरुपमा खेल आफ्नो पक्षमा पार्दै लगातार चौथो पटक फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
फाइनलमा ट्रिनबागो नाइट राइडर्सले सेन्ट लुसिया जौक्सको सामना गर्नेछ । सेन्ट लुसियाले गायनालाई दश विकेटले पराजित गरी फाइनलमा ट्रिनबागोसँगको भेट सुनिश्चित गरेको हो । ट्रिनबागो लिगमा आफ्नो अविजित यात्रालाई निरन्तरता दिएको छ । जौक्सका कप्तान डारेन सामी हुनुहुन्छ । ट्रिनबागोको नेतृत्व क्यारेन पोलार्डले गर्नुभएको छ । दुबैजना वेष्टइन्डिजको राष्ट्रिय टोलिका चर्चित अलराउण्डर हुन ।
जमैकाले प्रस्तुत गरेको १०८ रनको झिनो लक्ष्य ट्रिनबागोले मात्र एक विकेटको क्षतिमा पाँच ओभरको खेल बाँकी छँदै १११ रन बनाएर पुरा गर्यो । ट्रिनबागोले १४ रनमै सुनिल नारैनको रुपमा पहिलो विकेट गुमाएर दबाबमा आएको थियो । तर अर्का ओपनर लेन्डी सिमोन्सले टिअन वेस्टरसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गर्दै ट्रिनबागोको फाइनलको यात्रा सुनिश्चित गर्नुभयो । सिमोन्सले अविजित रहँदै ५४ तथा वेस्टरले ४४ रन बनाउनुभयो ।
सन्दीप लामिछाने भने सशक्त टोलि विरुद्धको खेलमा विकेटविहीन हुनुपर्यो । उहाँले चार ओभरको आफ्नो स्पेलमा २९ रन खर्चिनुभयो । जमैकालाई एक मात्र सफलता मुजिब ऊर रहमानले दिलाउनुभयो । उहाँले तीन ओभरमा मात्र १८ रन खर्चेर सुनिल नारैनको विकेट लिनुभयो ।
जमैका तलावाजको कमजोर ब्याटिंग प्रतियोगितामा लगातार चौथो पटक उदागिंयो । २० ओभरमा उसले सात विकेटको क्षतिमा मात्र १०७ रन जोड्न सक्यो । २५ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गरेको जमैकाको पारीमा रुमाह बूनरले सर्वाधिक ४१ र कप्तान रबमन पावेलले ३३ रन बनाउनुभयो । अन्य पाँचजना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन ।
जमैकालाई झिनो योगफलमा समेटन ट्रिनबागोका अकेल होसैनले सर्वाधिक तीन तथा खेरी पिएरीले दुई विकेट लिनुभयो । दुबैजना देब्रे हातका स्पिनर हुन । सुनिल नारैन र फवाद अहमदले एक एक विकेट लिए । होसैन प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।