logo
२०८१ मंसिर ९ आईतवार

  फोटो फिचर  



प्रकृतिले मात्र हाेइन, खेल पूर्वाधारले पनि धनी छ मुस्ताङ

खेलकुद |


प्रकृतिले मात्र हाेइन, खेल पूर्वाधारले पनि धनी छ मुस्ताङ


अमृतप्रसाद पौडेल
बेनी, असोज ११ गते । हिमालपारिको जिल्ला मुस्ताङमा अन्य विकास पूर्वाधारका दृष्टिले निकै पछाडि छ । यो जिल्ला प्राकृतिक सम्पदाले जति धनी छ त्यति रुपमा खेल पूर्वाधारले सम्पन्न छ । देशकै राजधानीमा त पर्याप्त पूर्वाधार नभएका बेला हिमाल पारिको जिल्लामा त धेरै आश नगर्न स्वाभाविक हो तर स्थानीयको लगनका कारण प्रत्येक वर्ष हुने थाक खेलकुद तथा साँस्कृतिक महोत्सवले जिल्लामा खेल पूर्वाधारहरू थपिँदैगएका छन् ।
सदरमुकाम जोमसोमदेखि तल्लो भेग घाँसासम्मका आठ वटा क्लब छन् । ती क्लबले एकीकृत संयोजनबाट बनेको थाक खेलकुद तथा साँस्कृतिक संघले प्रत्येक वर्ष असोजको पहिलो हप्ता खेलकुद तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने गर्दछ । सोही महोत्सव आयोजना स्थलहरुमा प्रत्येक वर्ष हुने कार्यक्रममा खेल पूर्वाधार निर्माण हुने गरेका छन् । जिल्लाको घाँसा, लेते, ताक्लुङ, टुकुचे, मार्फा, स्याङ र जोमसोममा कवर्डहल भलिबल खेल मैदान र आर्चरी खेल मैदान तयार भएका छन् ।
पचास वर्ष पुरानो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक विकास संघले प्रत्येक वर्ष आलोपालो गरेर मेला लाग्छ । सोही मेला आयोजना गर्नका लागि कबर्ड हल तथा भलिबल र आर्चरी खेल्ने ग्राण्ड पनि बनाउने गरेको छ । सङ्घका सचिव दीपक लालचनका अनुसार हालसम्म सबै स्थानमा गर्दा १० करोडभन्दा बढीको लागतमा स्थानीयका लागि उत्कृष्ट कबर्ड हल तथा खेल मैदान निर्माण भएको छ । लालचन भन्नुहुन्छ, ‘स्थानीयको श्रमदान, राज्यको निकायको बजेट तथा विदेशी सहयोगसमेत मिलाएर खेल पूर्वाधार निर्माण हुने गरेको छ ।’
सङ्घका अध्यक्ष चन्द्रमोहन गौचनका अनुसार थासाङ गाउँपालिकाको घाँसा, लेते, ताक्लुङ, कोबाङ, टुकुचे एवम् घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोममा कबर्ड हलसहित भलिबल तथा आर्चरी खेल्नका लागि मैदान निर्माण भएका छन् । अधिकांश क्षेत्रमा निर्माण भएका खेल पूर्वाधारहरू राज्यकै निकाय, स्थानीयको जनश्रमदान तथा वैदेशिक रोजगारीमा गएकाहरूको सहयोग र वैदेशिक सहयोगसमेत गरी खेल पूर्वाधार निर्माण भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?