गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १८ गते । शेन वाट्सनले क्रिकेटको सबै स्वरुपबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट उहाँले सन् २०१६ मै सन्यासको घोषणा गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटका हस्ती रहनुभएका अष्ट्रेलियाली अलराउण्डर ३९ वर्षीय शेट वाट्सनले अन्तर्राष्ट्रिय टी ट्वान्टी लिगलाई केन्द्रित गरी क्रिकेट जिवनबाट सन्यासको घोषणा गर्नुभएको हो । गतवर्ष उहाँले अष्ट्रेलियाली क्रिकेट लिग बीग बैशबाट सन्यासको घोषणा गर्नुभएको थियो ।
चेन्नई सुपर किंग्स र कलकत्ता नाइट राइडर्सबीच गत् अक्टोबर २९ मा रंगशालामा उत्रिनुभएका वाट्सनले उक्त खेल नै आफ्नो क्रिकेट जिवनमा ‘सिनियर लेभल’को अन्तिम खेल भएको बताउनुभएको हो । इन्डियन प्रिमियर लिगको जारी सिजनमा चेन्नई सुपर किंग्सको प्रतिनिधित्व गरी उहाँले २९.९० को औसत र १२१.५ को स्ट्राइक रेटले २९९ रन बनाउनुभयो । अन्तिम खेलमा उहाँले मात्र १४ रन जोड्न सक्नुभयो ।
वाट्सनले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ४०.५४ को औसत र ९०.४४ को स्ट्राइक रेटले पाँच हजार ७५७ रन बनाउनुभएको छ । २० वर्षसम्म अनव्रत रुपमा क्रिकेट खेल्नुभएका उहाँले एकदिवसीयमा क्रिकेटमा नौ शतक र १६८ विकेट लिनुभएको छ । अष्ट्रेलियाले सन् २००७ र २०१५ मा विश्वकप क्रिकेट जित्दा उहाँ टोलिको महत्वपूर्ण सदस्यको रुपमा हुनुहुन्थ्यो । र सन् २००६ र २००९ को च्याम्पियन्स ट्रफीको फाइनलमा उहाँले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द् म्याच समेत घोषित हुनुभयो ।
अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उहाँले १४५.३२ को स्ट्राइक रेटले एक हजार ४६२ रन बनाउनुभएको छ भने ४८ विकेट लिनुभएको छ ।