गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २७ गते । नेपाली क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल)मा सहभागिता जनाएर स्वदेश फर्किनुभएको छ । आज बिहान दुई बजे स्वदेश फर्किनुभएको सन्दीपका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिनुभयो ।
इन्डियन प्रिमियर लिगमा देल्ही क्यापिटल्सको प्रतिनिधित्व गर्नुभएको सन्दीपले एउटै खेलमा अन्तिम एघारमा स्थान पाउनुभएन । देल्ही प्रिमियर लिग क्रिकेटको १३ औं संस्करणको उपविजेतामा सीमित हुन गयो । फाइनलमा मुम्बईसँग पाँच विकेटले पराजित भएको देल्हीले सन्दीपको तुलनामा अलराउण्डर अक्षर पटेल र रबिचन्द्रन आश्विनलाई प्राथमिकतामा राखेको थियो । पछिल्लो संस्करणमा उहाँले छ खेलमा अवसर पाउनुभएको थियो ।
अर्का स्पिनर अमित मिश्रा घाईते भई प्रतियोगिताबाट बाहिरिदा सन्दीपले अवसर पाउने अपेक्षा गरिएको थियो । तर आश्विन र पटेलले नियमित मौका पाइरह्यो । सन्दीपको प्रिमियर लिगमा देल्हीसँगको तीन वर्षको अनुबन्धन यसैवर्ष सकिएको छ ।
शिवाकोटीले करिब १५ दिन नेपाल बसाईपछि सन्दीप अष्ट्रेलियामा हुने बिग बैश लिग खेल्न प्रस्थान गर्ने जानकारी दिनुभयो । सन्दीप लिगको पछिल्लो संस्करणमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँको अनुबन्धन सकिएकोले लिगको आगामी संस्करणका लागि कुराकानी भईरहेको शिवाकोटीले बताउनुभयो । “एक दुई दिनभित्रै सन्दीप खेल्ने टोलिको टुंगो लाग्ने गरी छलफल भइरहेको छ ।”– शिवाकोटीले बताउनुभयो ।
इन्डियन प्रिमियर लिग खेल्नु अघि सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जमैका प्रस्थान गर्नुभएको थियो । जमैका तलावाजको प्रतिनिधित्व गरी उहाँले दश खेलमा १२ विकेट लिनुभएको थियो । जमैका अन्तिम चारमा पुगेपछि फाइनलमा स्थान सुनिश्चित गर्न सकेन ।