प्रजित शाक्य
काठमाडौँ, कात्तिक २८ गते । विश्व खेलकुदमा अन्तर्राष्ट्रिय मैत्री खेलको खासै आकर्षण हुँदैन । मैत्री खेललाई गम्भीर रुपमा लिने गरिँदैन । मैत्री खेलमा उपाधिको लक्ष्य नरहने हुँदा प्रशिक्षक, खेलाडी पनि त्यत्ति गम्भीर बन्दैनन् । फिफा वरीयतामा फरक पार्ने र ठूला प्रतियोगिताका लागि अभ्यास खेलको रुपमा मात्र हेरिने हुँदा अन्तर्राष्ट्रिय मैत्री खेलको खासै चर्चा हुँदैन ।
तर नेपालले शुक्रबार (आज) र मङगलबार बङ्गलादेशविरुद्ध खेल्न लागेको दुई खेलको अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खला भने अहिले चर्चामा छ । कारण हो, नेपाली फुटबल लामो समयपछि मैदानमा फर्कन लागेको हो । फिफा विश्वकप २०२२ र एएफसी एसियाली कप फुटबलको छनोटअन्तर्गत २०७६ साल मङ्सिर ३ गते कुवेतविरुद्ध खेलेपछि नेपालले पहिलो पटक खेल्दैछ । यसरी करीब एक वर्षपछि नेपाली फुटबल टिमले पुनरागमन जनाउन लागेकोले पनि यस मैत्री शृङ्खलालाई लिएर नेपाली फुटबलप्रेमी उत्साहित छन् ।
आठ नयाँ खेलाडी
बङगलादेशमा रहेको नेपाली फुटबल टिममा सबैको नजर हुनुमा अन्य कारण पनि छन् । बङगलादेश जाने टिममा आठ नयाँ अनुहार छन् । एरिक विष्ट विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलो पटक सिनियर राष्ट्रिय टिममा पर्नुभएको हो । प्रशिक्षक बालगोपाल महर्जनले यी खेलाडीलाई दुई खेलमा कसरी उपयोग गर्छन् भन्ने पनि हेर्नलायक पक्ष हुनेछ । बङ्गलादेशविरुद्ध मैत्री खेल्न बोलाइएका खेलाडीमध्ये सात खेलाडी कोरोना संक्रमित देखिएपछि पनि नेपाली टिममा संकट थपिएको थियो । यीमध्ये सबै खेलाडी पहिलो रोजाईका खेलाडी हुन् । प्रमुख मिडफल्डर रोहित चन्द पनि चोटका कारण टिममा नहुँदा प्रशिक्षक बालगोपाल महर्जनलाई थप चिन्तामा पारेको थियो । तर यिनीहरुको अनुपस्थ्तिि नयाँ खेलाडीलाई राम्रो अवसर बन्न सक्छ । यसैगरी बिहिबार प्रशिक्षक महर्जनले ढाकामा रहेका एक खेलाडीमा पनि कोरोना संक्रमण देखिएको जानकारी दिनुभएको छ ।
बङगलादेशसँग परिचित प्रशिक्षक
महर्जनलाई अकस्मात अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिमको रेखदेख गर्ने जिम्मेवार दिएको हो । नेपालका प्रमुख प्रशिक्षक योहान कालिनलाई कोरोना भाइरसको महामारीका कारण स्वीडेन सरकारले भ्रमण गर्न बन्देज लगाए पछि महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो । तर महर्जनका लागि यो नौलो जिम्मेवारी होइन । सन् २०१६ मा बङ्गबन्धु गोल्डकपमा नेपालले महर्जनकै प्रशिक्षकत्वमा उपाधि जितेको थियो । बङ्गलादेशको ढाकामा भएको दशौँ साफ च्याम्पियन्सीपमा पनि नेपालको प्रशिक्षक हुनुहुन्थ्यो । प्रशिक्षक महर्जनले व्यवसायिक फुटबल प्रशिक्षकको रुपमा बङ्गलादेशको ब्रदर्स युनियन क्लब पनि सम्हालिसक्नुभएको छ । त्यसैले दुई मैत्री खेलमा नेपालले प्राप्त गर्ने नतिजा प्रशिक्षक महर्जनको रणनीतिमा पनि धेरै निर्भर हुनेछ ।
विश्वकप छनोटको तयारी पनि
फिफा विश्वकप २०२२ र एएफसी एसियाली कप फुटबलको छनोटको तयारी भएकोले पनि नेपाल र बङ्गलादेश दुवैका लागि यो शृङ्खला निकै महत्वपूर्ण बनेको छ । यी दुवै टिम कोभिड १९ का कारण लामो समयदेखि विश्राममा छ । तर एक दिनअघि मात्र एसियाली फुटबल महासंघ (एएफसी)ले स्थगनमा रहेको विश्वकप छनोटको दोस्रो चरणका बाँकी खेलका मिति तय गरेको छ । सन् २०२१ को जुन १५ भित्र बाँकी खेल सकिने बताइएको छ । विश्वकप छनोटका खेल मार्च र जुनमा हुनेछन् । नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ । बङगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमको स्थिति बुझ्न सहज हुनेछ र त्यही अनुरुप विश्वकप छनोटका लागि तयारीको अवसर प्राप्त हुनेछ ।
हेड टु हेड
दक्षिण एसियायका यी दुई राष्ट्र नेपाल र बङ्गालदेश फुटबलमा परम्परागत प्रतिद्वन्द्वी हुन् । फिफा वरीयतामा अहिले नेपाल (१७०) भन्दा बङ्गालदेश(१८७) १७ स्थान तल छ । तर एकअर्काविरुद्धको प्रदर्शन हेर्ने हो भने अहिलेसम्म यी दुई टिमबीच भएको १९ खेलमध्ये बङ्गलादेश १२ भिडन्तमा विजयी भएको छ । नेपालले छ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको थियो । तर पछिल्ला केही प्रदर्शन हेर्ने को भने नेपाल हावी देखिन्छ । यी दुई टिमबीच पछिल्लो खेल २०७५ सालमा भएको साफ च्याम्पिन्सीप्मा भएको थियो । जसमा नेपालले बङ्गलादेशलाई २–० ले हराएको थियो । पछिल्ला पाँच खेलकै कुरा गर्ने हो भने नेपालले तीन खेल जितेको छ भने एक बराबरीमा खेलेको छ ।
जित्न आएका हौँ– प्रशिक्षक
नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले बङ्गलादेशको फुटबल संघलाई आमन्त्रणका लाग धन्यवाद दिँदै बङ्गलादेशलाई उसकै मैदानमा हराएर शृङ्खला जित्न ढाका आएको बताउनुभएको छ । उहाँले बङ्गलादेशलाई हराउन आप्mनो टिमले शतप्रतिशत प्रदर्शन गर्ने र पछिल्ला पाँच वर्ष बङ्गलादेशसँग नहारेकोले पनि जितमा आशावादी छु, भन्नुभयो । कोरोना संक्रमणले धेरै खेलाडी टिममा नरहेपनि प्रशिक्षक महर्जनले यसलाई बहाना बनाउन नमिल्ने भनाई राख्नुभयो । उहाँले दुवै टिमको शृङ्खला जित्ने बराबर सम्भावना रहेको धारणा पनि राख्नुभयो ।
यसैगरी, कप्तान किरणले नखेलेको लामो समय भइसकेकोले मैदानमा उत्रन निर्क उत्साहित छु भन्नुभयो । उहाँले भन्नुभयो– दुवै खेल प्रतिस्पर्धात्मक हुनेमा आशावादी छु । तर हामी तयार छौँ । मानसिक रुपमा पनि सबल छौँ । नेपालले टिम भावनामा खलेर बङ्गलादेशलाई हराउने प्रतिक्रिया दिनुभयो ।
ट्रफी सार्वजनिक
पहिलो खेलको एक दिनअघि भएको पत्रकार सम्मेलनमा खुई खेलको शृङ्खलाको नाम बङ्गबन्धु शेख मुजीबु रहमानको स्मृतिमा ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’को नाम दिइएको छ । दुवै खेल बङ्गबन्धु रङ्गशालाम नै हुनेछ । यसैगरी सोही अवसरमा मैत्री शृङ्खलामा ट्रफी पनि सार्वजनिक गरिएको छ ।