गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३ गते । म्यान्चेष्टर सिटीका विंगर फेरन टोरसले आफ्नो फुटबल जीवनको पहिलो हयाट्रिक लगाएपछि स्पेनले जर्मनीलाई ६–० को विशाल अन्तरले हराएको छ । २० वर्षीय टोरसले हयाट्रिक लगाउनुका साथै आफ्नो कलाबाट प्रशंसकको ध्यान तान्न सफल हुनुभयो । जर्मनीलाई हराएसँगै स्पेनले चार राष्ट्र सम्मिलित नेशन्स लिग फाइनलमा फ्रान्ससँगै उभिएको छ ।
जर्मनीलाई हराउने क्रममा स्पेनले खेलको हाफ टाइम अघि र पछि समान तीन तीन गोल गर्यो । सन् २००८ को यूरो कप फाइनल झैं चेल्सीका फरवार्ड अल्भारो मोराटाले स्पेनका लागि हेडरमार्फत् गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो ।
१७ औं मिनेटमा स्पेनले १–० को अग्रता लिन सफल भयो । ३३ औं मिनेटमा टोरसले गोल अन्तरलाई दोब्बर पार्नुभयो । रोड्रीले ३८ औं मिनेटमा गर्नुभएको प्रहार गोलमा परिणत भएपछि स्पेनको अग्रता ३–० भयो । टोरसले ५५ औं मिनेटमा गोल अन्तरलाई ४–० बनाउनुभयो । ७१ औं मिनेटमा टोरसले स्पेनका लागि पाँचौं गोल गर्दा आफ्नो हयाट्रिक समेत पूरा गर्नुभयो । ८९ औं मिनेटमा मिकेल ओयार्जबालले ६–० बनाउँदै स्पेनको विशाल अन्तरको जित सुनिश्चित गर्नुभयो ।
स्पेन र फ्रान्सले समूह ए टुबाट बेल्जियम वा डेनमार्कको र ए वानबाट इटाली, नेदरल्याण्ड्स वा पोल्याण्डको सामना गर्नेछ ।