गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १० गते । ग्रेग बारक्ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)का नयाँ अध्यक्ष चयन हुनुभएको छ । सशांक मनोहर यसै वर्षको सुरुवातमा अध्यक्ष पदबाट राजिनामा गर्नुभएपछि आईसीसीको अध्यक्ष पद रिक्त हुन गएको थियो ।
न्युजिल्याण्डको अकल्याण्डका व्यावसायिक अधिवक्ता रहनुभएका बारक्ले सन् २०१२ देखि क्रिकेट न्युजिल्याण्डका निर्देशक हुनुहुन्छ । हाल उहाँ न्युजिल्याण्ण्ड क्रिकेटको प्रतिनिधित्व गरी आईसीसी परिषद् सदस्य हुनुहुन्थ्यो । आईसीसीमा अध्यक्षको भूमिकामा आएपछि उहाँ न्युजिल्याण्ड क्रिकेटको निर्देशक पदबाट राजिनामा गर्नुहुनेछ ।
सन् २०१५ को विश्वकप क्रिकेट आयोजक समितिको निर्देशक रहनुभएका बारक्ले अष्ट्रेलिया र न्युजिल्याण्डस्थित विभिन्न कम्पनीका निर्देशकको भूमिका निर्वाह गर्नुभएको छ । आईसीसीको अध्यक्षमा नियुक्त भएपछि बारक्लेले भन्नुभयो, “आईसीसीको अध्यक्ष चयन हुन पाउँदा सम्मानित महसुस गरेको छु, सहकर्मी आईसीसीका निर्देशकहरुले चयन हुन गरेको समर्थनप्रति कृतज्ञ छु ।” यस्तो महामारीको बेला आईसीसीको विकासका लागि एक ढिक्का भएर अगाडी बढ्ने विश्वास लिएको उहाँले बताउनुभयो ।