गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १६ गते । एशियाली फुटबल संघले क्लब प्रतियोगिताका लागि नेपालका ए लेभलका सबै क्लबको आवेदन अस्वीकार गरेको छ । सन् २०२१ मा एशियाली लेभलको क्लब फुटबल खेल्न नेपालबाट १३ वटा ए लेभलका क्लबले अनुमतिको आवेदन दिएको थियो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले क्लब खेलको लागि अनुमति दिने निकाय फस्र्ट इन्स्टेन्ट बडी(एफआईबी)ले उक्त निर्णय गरेको जनाएको छ । शहीद मेमोरियल ए डिभिजन लिग २०१९÷२० मा रेलिगेशनमा परेको सरस्वती युथ क्लबबाहेकका ए लेभलका क्लबले सन् २०२० मा अनुमतिको आवेदन दिएको थियो ।
एशियाली क्लब प्रतियोगितामा सहभागिताका लागि त्रिभुवन आर्मी क्लबले अनुमति पाउन नजिक पुगेको एन्फाले जनाएको छ । एफसीले एन्फा र आर्मी क्लबले गरेको व्यवसायिक प्रतिबद्धताको प्रशंसा गरेको छ । खेलकुद क्लबभन्दा फुटबल क्लबको रुपमा रुपान्तरण गर्न आर्मीलाई एएफसीले सुझाएको छ ।
एशिया लेभलमा क्लब फुटबलको मान्यता प्राप्त गर्न एएफसीले बनाएको मापदण्ड नेपाली फुटबल क्लबहरुले पुरा गरेको छैन् । क्लब अनुमतिका लागि आफ्नै रंगशाला, खेलाडी अभ्यास र उत्पादनका लागि आवासीय ब्यवस्थ, क्लबको वार्षिक बजेट तथा लेखा परीक्षण गरेको प्रतिवेदन प्रमाणपत्र समेत बुझाउनुपर्ने हुन्छ ।