गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १८ गते । इंग्ल्याण्ड क्रिकेट टोलीका ब्याट्सम्यान देविड मलानले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अहिलेसम्मकै उच्च रेटिंग्स पाउनुभएको छ । ३३ वर्षीय देब्रे हातका ब्याट्सम्यान ९१५ रेटिंग्स पाउनुभएको छ । आईसीसीको टी ट्वान्टीमा वरियतामा ९०० रेटिंग्स पार गर्नुहुने उहाँ पहिलो क्रिकेटर हुनुहुन्छ । अष्ट्रेलियाका आरोन फिञ्च सन् २०१८ को जुलाइमा अहिलेसम्मकै उच्च ९०० रेटिंग्स पाउनुभएको थियो ।
दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलामा १७३ रन बनाउनुभएका मलानले टी ट्वान्टी वरियतामा अहिलेसम्मकै उच्च रेटिंग्स पाउनुभएको हो । देविड मलान दोस्रो वरियताका पाकिस्तानका बाबर आजमभन्दा स्पष्ट ४४ अङ्कको अग्रता लिनुभएको छ । बाबर आजमलाई मलानले यसै वर्षको सेप्टेम्बरमा उछिन्नुभएको थियो ।
मलानले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टीमा ९९ रनको अविजित पारी खेल्नुभएको थियो । मलानको उत्कृष्ट लयले इंग्ल्याण्डलाई आईसीसी टी ट्वान्टीको शिर्ष वरियतामा पुर्याउन महत्वपूर्ण योगदान पुर्यायो । दक्षिण अफ्रिका इंग्ल्याण्ड विरुद्धको तीन म्याचको टी ट्वान्टी ३–० ले हार्दा इंग्ल्याण्ड शिर्ष स्थानमा उक्लिन सफल भयो ।
आईसीसी टी ट्वान्टी वरियतामा इंग्ल्याण्ड २७५ अङ्कसहित शिर्ष वरियतामा छ । दोस्रो स्थानको अष्ट्रेलियाको सामान २७५ अङ्क भएपनि ऊ दशमलबले पछाडि रहेको छ ।