गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २१ गते । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलाको पहिलो खेल दोस्रो पटक स्थगित भएको छ । यसअघि पहिलो एकदिवसीय खेल गत् शुक्रबार हुने तय भएकोमा अन्तिम समयमा स्थगित हुन पुगेको थियो ।
आइतबार बिहान टस हुनुभन्दा ३० मिनेट अघि मात्रै अफ्रिकी र इंग्ल्याण्ड क्रिकेट बोर्डले संयुक्त वक्तब्य जारी गरी खेल निर्धारित समयभन्दा ढिलो हुने जनाएको थियो । पाहुना टोली इंग्ल्याण्ड र दक्षिण अफ्रिका बसेको होटेलमा कार्यरत दुई कर्मचारीमा सङक्रमणको आशंका गरिएपछि पहिलो एकदिवसीय दोस्रो पटक स्थगित हुन पुगेको छ । लगत्तै शनिबार साँझ इंग्ल्याण्ड क्रिकेट टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो ।
पहिलो वक्तब्य जारी भएको केही समयभित्रै दुबै बोर्डले पुनः वक्तब्य जारी गरी इंग्ल्याण्ड क्रिकेट टोलीका दुई जनामा सङ्क्रमण पाइएकोमा दोस्रो परीक्षणको नतिजा निगेटिभ आएको उल्लेख गरियो । आइतबार बिहान पुनः दुबै खेलाडीको कोरोना परीक्षण गरिएको छ। दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको पुर्नतालिका खेल बमोजिम आईतबार, सोमबार बुधबार गरी तीन एकदिवसीय श्रृखंला हुने निर्धारण गरियो । आईतबारको खेल स्थगित भएपछि सोमबार र बुधबार मात्रै खेल सम्भव हुने भएपनि स्वतन्त्र स्वास्थ्य अधिकारीले दिएको सुझाब बमोजिम खेल्न हुने नहुने तय गरिने दुबै बोर्डले जनाएको छ ।