सिड्नी, मङ्सिर २४ गते । सिड्नी क्रिकेट मैदानमा उपस्थित ३० हजार दर्शक सामु अस्ट्रेलियाले मङ्गलबार भारतलाई अन्तिम टी–२० खेलमा १२ रनले हराएको छ । यद्यपि घरेलु टिम अस्ट्रेलियाले सुरुका दुई खेलमा हार बेहोरेर पहिले नै शृङ्खला गुमाइसकेको छ ।
प्रारम्भिक ब्याट्सम्यान म्याथ्यु वेडले ५३ बलमा ८० रन बनाएपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १८६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले पनि तेज गतिमा ५४ रन बनाउनुभयो । उहाँ दुवै ब्याट्सम्यानले चौथो विकेटका लागि ९० रनको साझेदारी गरी जितको आधार तयार पार्नुभएको हो ।
अस्ट्रेलियाका स्पिनर बलर मिच स्वेप्सनले सर्वाधिक तीन विकेट लिनुभयो । यसैगरी अन्य दुई स्पिनर एडम जाम्पा र म्याक्सेलले पनि एक÷एक विकेट लिएर भारतको जितमा अवरोध पार्नुभयो । तेज बलर एजे टाईले विराट कोहलीलाई ८५ रनमा आउट गर्नुभयो ।
कप्तान कोहलीको शानदार पालि हुँदाहुँदै पनि भारत २० ओभरमा सात विकेटको क्षतिमा १७४ रनमा रोकिएको हो । भारतले टी–२० अन्तर्राष्ट्रियमा लगातार दस जितपछि हारेको हो । अब यी दुई टिमबीच डिसेम्बर १७ देखि चार खेलको टेस्ट शृङ्खला सुरु हुनेछ । एपी