logo
२०८१ मंसिर ९ आईतवार



एन्फा र एपीएफ स्कुलबीच सम्झौता

खेलकुद |


एन्फा र एपीएफ स्कुलबीच सम्झौता


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल एपीएफ स्कुलबीच मङ्गलबार छ वर्षका लागि सम्झौता भएको छ ।
नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी स्थापना गर्नुका साथै एन्फा र एपीएफ एकेडेमीबीच युवा फुटबल खेलाडी उत्पादन तथा प्रवद्र्धन गर्ने सो सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । व्यावसायिक फुटबल खेलाडीलाई शिक्षा पनि अत्यावश्यक भएकोमा सहमत हुँदै दुवै पक्षले लामो समयसम्म सहकार्य गर्न स्वीकार गरेका हुन् ।
एन्फा अध्यक्ष शेर्पाले नेपाल एपीएफ स्कुल सँगको सम्झौतामा हामी खुसी र गौरवान्वित छौँ । एकेडेमी स्थापना गर्न यो ऐतिहासिक सम्झौता हो भन्नुभयो । यो सम्झौता अनुसार एन्फा र एपीएफ स्कुल फुटबल एकेडेमीले संयुक्त रूपमा प्रत्येक दुई वर्षमा २१ युवा खेलाडी चयन गर्नेछन् । जसमध्ये एन्फा र एपीएफले सात÷सात खेलाडी प्रायोजन गर्नेछन् । यी दुवै पक्षले खेलाडीले १२ कक्षा उत्तीर्ण नभएसम्म शैक्षिक भार बेहोर्नेछन् । सो एकेडेमी एन्फाका प्रशिक्षकले सञ्चालन गर्नेछन् । सुरुमा सो एकेडेमीमा १३–१४ वर्षका खेलाडी सामेल गराइनेछ ।
सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालले एन्फासँग सहकार्य गर्न पाउँदा एपीएफ खुसी छ भन्दै देशका युवा खेलाडीलाई प्रवद्र्धन गर्न एन्फासँग हातेमालो गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो– यो एकेडेमीपछि हाम्रा युवा खेलाडीलाई सिनियर टिम मात्र होइन राष्ट्रिय टिमसम्म लाने मार्ग पनि सजिलो हुनसक्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?