गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २९ गते । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमको औंला भाँचिदा १२ दिनको आराममा बस्नुपर्ने भएको छ । आराम गर्नुपर्ने भएपछि उहाँ न्युजिल्याण्ड विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलाको एउटै खेलमा सहभागी हुन पाउने छैन् ।
पाकिस्तान क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी अभ्यासको क्रममा आजमको बूढी औंलामा चोट लागेको जनाएको छ । लगत्तै उहाँलाई क्विन्सटाउनस्थित अस्पताल लगेर एक्स रे गर्दा क्षतिले पूर्ण आराम आवश्यक हुन गएको वक्तब्यमा उल्लेख गरिएको छ ।
आजम टोलीबाट बाहिरिनु पाकिस्तानका लागि ठूलो चिन्ताको विषय बनेको छ । कप्तान मात्रै नभई उहाँ टी ट्वान्टी अन्तर्राष्ट्रियमा विश्व वरियताको दोस्रो स्थानमा हुनुहुन्छ । गत् महिना मात्रै उहाँले पाकिस्तान सुपर लिगमा कराँची किंग्सलाई पहिलो पटक उपाधि दिलाउनुभएको थियो । पहिलो क्वालिफायरसँगै फाइनलमा समेत अद्र्धशतक लगाएर उहाँ प्लेयर अफ द् म्याच समेत घोषित हुनुभयो । उहाँको स्थानमा मोहम्मद हफिजलाई शिर्ष स्थानमा खेलाइनेछ भने मध्यक्रमको विकल्प खोजिदैछ ।
पाकिस्तानले न्युजिल्याण्ड विरुद्धको पहिलो टी ट्वान्टी खेल शुक्रबार खेल्नेछ । २६ डिसेम्बरमा पहिलो टेष्ट सुरु हुनु अघि बाबरको पुनः एक्स रेपछि चिकित्सकको सुझाबमा उहाँ टेष्ट श्रृखंलामा फर्किने नफर्किने तय हुने पीसीबीले जनाएको छ ।