हरिप्रसाद कोइराला
पथरीशनिश्चरे–मोरङ, पुस ८ गते । पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा सिरिजङ्घा फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै नवोदय फुटबल क्लब उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ।
नवोदय फुटबल क्लबको जितमा रोशन माझी नायक बन्नुभयो ।हजारौं दर्शकको समर्थन पाएको सिरिजङ्घा लिग चरणको खेलमा अपराजित थियो । मुस्किलले नकआउट चरण पार गरेको नवोदयका रोशन माझीले खेलको २४ ओैं मिनेटमा गरेको १ मात्र गोल नै सिरिजङ्घाको हारका लागि पर्याप्त बन्यो ।
शुरु देखि अन्त्य सम्म नवोदयलाई दबाबमा राखेको सिरिजङ्घाले पटक पटक गोल गर्ने अवसर पाएपनि नवोदयको रक्षात्मक पद्धती सम्हालेका सनम मुडियारी र धिरेन बिष्ट बाधक बने ।
मध्यान्तर पछि अझ बढी आक्रमण – प्रत्याक्रमणपूर्ण खेलको ७९ ओै मिनेटमा नवोदय १० खेलाडीमा सिमित भयो । दोहोरो कार्ड पछि रातो कार्ड पाएर सेनेहाङ लिम्बू मैदानबाट बाहिरिएपछि नवोदय थप दबाबमा परेको थियोे ।
नवोदयका सञ्जय कुरूङ्वाङ मेन अफ द म्याच घोषित हुनुभयो । बिहीबार दोस्रो सेमिफाइनल खेल द रियल ब्रदर्स र न्यु स्टार क्लबबीच हुनेछ ।
प्रतियोगिताको बिजेताले एक लाख ७५ हजार रुपियाँ र उप विजेताले ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।