गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । अफगानिस्तान क्रिकेट टोलिका स्पिनर मुजीब उर रहमान सन् २०२१ मा इंग्ल्याण्डको घरेलु टी ट्वान्टी लिगका लागि मीडलसेक्समा आबद्ध हुनुभएको छ । सन् २०१९ मा पनि उहाँ मीडलसेक्सको प्रतिनिधित्व गरेपनि कोभिड १९ का कारण सन् २०२० मा गुमाउन पुग्नुभयो । सन् २०१९ मा मुजीबको उत्कृष्ट प्रदर्शनले मीडलसेक्सको क्वार्टरफाइनलको यात्रा सम्भव भएको थियो ।
१९ वर्षीय रहमान अन्तर्राष्ट्रिय टी ट्वान्टी वरियतामा बलिंगतर्फ दोस्रो स्थानमा रहनुभएको छ । शिर्ष स्थानमा अफगानिस्तानकै राशिद खान हुनुहुन्छ । इन्डियन प्रिमियर लिग(आईपीएल)को पछिल्लो संस्करणमा किंग्स एलेभन पञ्जाबको प्रतिनिधित्व गर्दा रहमानले दुई म्याचमा मात्रै अबसर पाउनुभयो ।
मीडलसेक्सका प्रमुख प्रशिक्षक स्टुअर्ट लले मुजीब पुनः मीडलसेक्समा आबद्ध भएकोमा टोलिमा विविधता थपिने विश्वास लिएको प्रतिक्रिया दिनुभयो । उहाँले १२६ टी ट्वान्टीमा ६.६७ को इकोनोमीले १३२ विकेट लिनुभएको छ । मीडलसेक्सका लागि दश खेलमा उहाँले सात विकेट लिनुभएको छ ।