गोरखापत्र अनलाइन
काठमाडौं, पुस १८ गते । अष्ट्रेलियामा जारी बिग बैश लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्सले २१ रनले जित हात पारेको छ । बिग बैशको जारी संस्करणमा होबर्टको प्रतिनिधित्व गर्नुभएको सन्दीपले आफ्नो पुरानो फ्रेञ्चाइजका दुई ब्याट्सम्यानलाई पेभेलिय फर्काउनुभयो ।
होबर्टले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउँदै मेलबर्न स्टार्सले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र १४३ रन जोड्न सक्यो । कप्तान ग्लैन म्याक्सवैलले सर्वाधिक ७० रनको योगदान दिएपनि जितका लागि अपर्याप्त भयो । उसको पारीका सात जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन् । १३ ओभरमा चार विकेटको क्षतिमा ११२ रन जोड्ेको मेलबर्नले बाँकीको सात ओभरमा ५३ रन ल्याउन सकेन ।
होबर्टका लागि स्कट्ट बोलन्डले सर्वाधिक तीन तथा सन्दीप लामिछाने र नाथन इलिसले दुई दुई एवम् जोहान बोथाले एक विकेट लिए । सन्दीपले चार ओभरमा ३८ रन खर्चिनुभयो ।
यसअघि होबर्टमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको हुरिकेन्सले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६४ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा देविड मलानले सर्वाधिक ७५ रनको योगदान दिनुभयो । कोलिन इन्ग्रामले मात्र १२ बलमा २६ रन बनाउनुभयो ।
मेलबर्नका लागि बिल्ली स्टान्लेकले सर्वाधिक तीन तथा शाम रैनबर्ड र ग्लैन म्याक्सवेलले सामान एक एक विकेट लिए ।
होबर्टका लागि तीन विकेट लिनुभएका स्कट्ट प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।