गोरखापत्र अनलाइन
काठमाडौं, पुस २१ गते । दक्षिण अफ्रिकाले श्रीलङ्का विरुद्धको टेष्ट श्रृखंला क्लिन स्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेष्ट खेलमा दश विकेटको भारी अन्तरको जितसँगै दक्षिण अफ्रिकाले श्रृखंला २–० ले जितेको हो ।
वान्डरर्समा श्रीलङ्काले प्रस्तुत गरेको ६७ रनको लक्ष्य दक्षिण अफ्रिकाले तेस्रो दिनमै बिना कुनै विकेटको क्षतिमा ६७ रन बनाएर पुरा गर्यो । दक्षिण अफ्रिकाका लागि ऐडन मरर्कनले ३६ तथा डीन एल्गरले ३१ रनको योगदान दिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले कुशल परेराको ६० रनको सहयोगमा पहिलो पारीमा १५७ रनको सामान्य योगफल तयार गर्यो । दक्षिण अफ्रिकी बलरहरुमा एनरिक नोर्जेले सर्वाधिक छ विकेट लिएपछि श्रीलङ्काली पारी झिनो योगफलमा समेटिन पुग्यो । वियान मल्डरले तीन तथा लुथो सिपाम्लाले एक विकेट लिए ।
जवाबमा दक्षिण अफ्रिकाले ओपनर डीन एल्गरको शतक र रस्सी भान डर दुस्सैनको ६७ रनको सहयोगमा पहिलो पारीमा ३०२ रनको औसत योगफल तयार गर्यो । श्रीलङ्काका लागि भिष्वा फर्नान्डोले सर्वाधिक पाँच तथा असिथा फर्नान्डो र दसुन सनाकाले सामान दुई दुई तथा दुसमन्था चमिराले एक विकेट लिए ।
पहिलो पारीमा १४५ रनले पछाडि परेको श्रीलङ्काले दोस्रो पारीमा २११ रनमा समेटिएपछि दक्षिण अफ्रिकाले मात्र ६७ रनको लक्ष्य पायो । श्रीलङ्काका लागि ओपनर दिमुथ करुणारत्नेले शतकीय पारी खेल्नुभएपनि अन्य कुनै ब्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि लुङ्गि एनगिडीले सर्वाधिक चार तथा लुथो सिपाम्लाले तीन, एनरिक नोर्जेले दुई र वियान मल्डरले एक विकेट लिए । खेलको प्लेयर अफ द् म्याच र प्लेयर अफ द् सेरिज डीन एल्गर घोषित हुनुभयो ।