गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३ गते । कप्तान जोइ रुटले दोहोरा शतक लगाएपछि श्रीलङ्काविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा इंग्ल्याण्डले दुई सय ८६ रनको महत्वपूर्ण बढ्त लिएको छ । पहिलो पारीमा इंग्ल्याण्डले ४२१ रनको ठूलो योगफल तयार गरेको छ ।
श्रीलङ्काले पहिलो पारीमा तयार गरेको १३५ रनको जवाबमा शुक्रबार पहिलो पारीको सुरुवात गरेको इंग्ल्याण्डले ४२१ रनको ठूलो योगफल तयार गर्न सफल भयो । १७ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको इंग्ल्याण्डका लागि कप्तान जोइ रुटले संयमित पारी खेल्दै जोनी बैरिष्टो, डन लौरेन्ससँग अलग अलग शतकीय पारीको साझेदारी गर्नुभयो । वैरिष्टोले ४७ तथा लौरेन्सले ७३ रनको योगदान दिए । बटलर ३० रन बनाएर पेभेलियन फर्किनुभयो ।
श्रीलङ्काका लागि दिलरुवान परेराले सर्वाधिक चार तथा लासिथ इम्बुलदेनियाँले तीन र असिथा फर्नान्डोले दुई विकेट लिए ।
यसअघि गलमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले आफ्नो पहिलो पारीमा १३५ रनको झिनो योगफलमा समेटिन पुग्यो । उसको पारीमा कप्तान दिनेश चन्दीमालले बनाएको २८ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । कुशल परेराले २० तथा दसुन सनाकाले २३ रनको योगदान दिनुभयो ।
इंग्ल्याण्डका लागि डम बेस्स एक्लैले पाँच तथा स्टुअर्ट ब्रोडले तीन तथा ज्याक लिचले एक विकेट लिए ।