गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । इंग्लिश प्रिमियर लिगमा म्यान्चेष्टर यूनाइटेड लिभरपुलसँग गोलरहित बराबरीमा रोकिएको छ । म्यान्चेष्टर यूनाइटेडले लिग विजेता लिभरपुलसँग बराबरीमा रोकिए पनि अङ्कतालिकाको शीर्ष स्थानमा रहन सफल भयो ।
परिचित ‘सेन्टर ब्याक’को अनुपस्थितिमा नै एनफिल्डमा उत्रिएको लिभरपुलले मीडफिल्डर जोर्डन हेन्डरसन र रक्षात्मक पंक्तिमा फाबिन्होलाई खेलाउँदा पहिलो हाफको अधिकांश समय खेल नियन्त्रणमा राख्न सफल भएको थियो । तर २० गजबाहिरबाट ब्रुनो फर्नान्डिेसले गर्नुभएको प्रहार गोलपोष्टभन्दा केही इन्चले मात्रै बाहिरिएपछि यूनाइटेड अग्रता लिनबाट वञ्चित हुन पुग्यो ।
दोस्रो हाफमा पाउल पोग्बाले ‘ब्ल्यान्क रेञ्ज’बाट गर्नुभएको प्रहार लिभरपुलका अलिस्सनले रोकेपछि यूनाइटेडको गोलको प्रयास दोस्रो पटक विफल भयो ।
बराबरीसँगै म्यान्चेष्टर यूनाइटेड १८ खेलबाट ३७ अङ्क बटुलेको छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटीले १७ खेलबाट ३५ अङ्क बटुलेको हो । लेस्टर भने ३५ अङ्कसहित तेस्रो स्थानमा छ । तर उसले दोस्रो स्थानको सिटीभन्दा एक खेल बढी खेलेको छ । शीर्षस्थानमा रहेको लिभरपुल भने १८ खेलबाट ३४ अङ्क बटुल्दै चौथो स्थानमा चिप्लिन पुगेको हो ।