गोरखपात्र अनलाइन
काठमाडौं, माघ ६ गते । लुम्बिनीले प्रदेश २ समक्ष २५८ रनको औसत लक्ष्य प्रस्तुत गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सातौं खेलमा लुम्बिनीले प्रदेश २ समक्ष २५८ रनको औसत लक्ष्य प्रस्तुत गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर लुम्बिनीले पहिला ब्याटिंग गर्ने निर्णय गर्यो । ४२ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको लुम्बिनीका लागि सन्दीप रजालीले सौरभ खनालसँग चौथो विकेटका लागि ९५ रनको उत्कृष्ट साझेदारी गर्नुभयो । लुम्बिनीको योगफल १३७ रहँदा रजाली कुमार थापाको बलमा क्याच आउट हुनुअघि ११ चौका लगाएर ८३ रन जोड्नुभयो । सौरभ खनालले पाँच चौका र तीन छक्काको सहयोगमा मात्र ६४ बलमा ५६ रनको योगदान दिनुभयो । पुछारमा बिक्रम भूषाले ३६ रनको पारी खेलेर रन आउट हुनुभयो । लुम्बिनीले पूरै ५० ओभर खेलेर नौ विकेटको क्षतिमा २५७ रनको औसत योगफल तयार गर्यो ।
प्रदेश २ का लागि हरिशंकर शाहले दश ओभरमा ४८ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । दिब्याशुं मल्लिकले दश ओभरमा ४५ रन खर्चेर दुई विकेट लिनुभयो । सैफुल्लाह अन्सारी, कुमार थापा र विशाल सुस्लिङले सामान एक एक विकेट बाँडे । महबुब आलमले छ ओभरमा २२ रन खर्चेपनि विकेटविहीन बन्न पुग्नुभयो ।