उर्लाबारी समाचारदाता
पथरीशनिश्चरे(मोरङ), माघ ६ गते । धरान सिटी एकेडेमी मोरङको पथरीशनिश्चरेमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२१ को क्वाटरफाइलमा प्रवेश गरेको छ । भूटानी शरणार्थीहरूको टिम फ्यान्स क्लब बेलडाँगी रेफ्युजी क्याम्पलाई धरान सिटी एकेड्मीले ३–१ गोलले हराएको हो ।
मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी रङ्गशालामा भएको खेलमा सुरुदेखि रेफुयुजी टिमलाई धरानले दवाबमा राखेको थियो । खेलको चौथो मिनेटमा नै धरानका प्रकाश बुढाथोकीले फ्रिकिकबाट पोष्टको जाली चुमाउनु भएपछि भूटानी टिम खेलको सुरुमै दबाबमा आएको थियो । पहिलो गोल गरेको ३ मिनेटपछि धरानले अर्को गोल थप्दै अग्रता दोब्बर बनाउन पुग्यो । धरानका लागि दोस्रो गोल आमस लिम्बूले गर्नुभयो । प्रकाश बुढाथोकीले डिबक्स नजिकै निकालिदिएको बल आमसले हेडिङ गर्दै जाली चुमाउनुभयो ।
खेलको २७ औं मिनेटमा रेफ्युजी टिमका अजय राजबंशीले धरानबिरुद्ध १ गोल गर्नुभयो । अजयले हेडमार्फत् गोल गरेपछि धरान रक्षात्मक बनेको थियो । एकपछि अर्को बल पोष्टमा प्रहार गरेको रेफ्युजी टिमले ५७ औं मिनेटमा एकाउण्ट एट्याकमा थप १ गोल खायो । धरानले बल अगाडि बढाएर प्रहार गर्नै लाग्दा डिबक्समा धरानका खेलाडी विटु तामाङलाई विपक्षी खेलाडीले ट्याकल गरर लडाएपछि रेफ्री मनोज तामाङले धरानलाई पेनाल्टी हान्ने अवसर दिनुभयो ।
पेनाल्टीमा प्रकाश बुढाथोकीले रेफ्युजी टिमबिरुद्ध गोल गरेपछि धरान ३–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो । धरान सिटी एकेडेमीका प्रकाश बुढाथोकी म्यान अफ द म्याच घोषित हुनुभयो । मङ्गलबार धरान फुटबल क्लब र बेलबारी फुटबल क्लब बीच खेल हुनेछ ।