गोरखापत्र अनलाइन
काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पारेको छ । त्रिभुवन आर्मीले प्रदेश १ माथि चार विकेटको जित हात पारेको हो ।
प्रदेश १ ले प्रस्तुत गरेको १३२ रनको लक्ष्य त्रिभुवन आर्मीले खेल सकिन २० ओभर १ बल बाँकी छँदै छ विकेटको क्षतिमा पुरा गरेको छ । सामान्य लक्ष्य पछ्याउने क्रममा ४१ रनमै चार विकेट गुमाएर आर्मीले कमजोर सुरुवात गर्यो । पारीको पहिलो बलमै अनिल मण्डल रन आउट हुनुभयो । अर्का ओपनर लोकेश बम १३ रनको ब्यक्तिगत योगफलमा पेभेलियन फर्किदा आर्मीको योगफल मात्र १९ रन थियो ।
कप्तान बिनोद भण्डारीसमेत मात्र पाँच रनको ब्यक्तिगत योगफलमा र हरि चौहानले आठ रन बनाएर पेभेलियन फर्किदा आर्मी थप दबाबमा आएको थियो । रोहित पौडेलले पाँचौं विकेटका लागि भीम सार्कीसँग अर्धशतकीय साझेदारी गरेर टोलीको योगफल ९१ रनसम्म पुर्याउनुभयो । पौडेलले ३६ र भीम सार्कीले २९ रन बनाएर पेभेलियन फर्किए । राजेश पुलामी २४ रन बनाएर अविजित रहनुभयो ।
प्रदेश १ का लागि फिरदोष अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दीपेश कँडेल र शुभशंकर उरावले सामान एक एक विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको प्रदेश १ ले ४० ओभर एक बलमा १३१ रनको योगफल तयार गर्यो । २९ रनमै तीन विकेट गुमाएको प्रदेश १ का लागि बिवेक मेहताले फिरदोष अन्सारीसँग चौथो विकेटका लागि ७७ रनको साझेदारी गर्नुभयो । मध्यक्रममा ब्याटिंग गर्न आएका विवेक मेहताले ८३ बलमा सात चौका र एक छक्काको सहयोगमा ५० रनको उत्कृष्ट पारी खेल्नुभयो । फिरदोष अन्सारीले ३२ रन बनाउनुभयो । ओपनर दीपक पासवानले १९ रन बनाउनुभयो ।
त्रिभुवन आर्मीका लागि शहाब आलमले सर्वाधिक चार विकेट लिनुभयो । उहाँले नौ ओभर एक बलमा मात्र २३ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । आकाश चन्दले तीन तथा सुशन भारी, भिम सार्की र राजेश पुलामीले सामान एक एक विकेट लिए ।