गोरखापत्र अनलाइन
काठमाडौं, माघ ११ गते । ओपनर आदिल खान र मध्यक्रमका ब्याट्सम्यान इशान पाण्डेको अर्धशतकमा बागमतीले लुम्बिनीसमक्ष २२१ रनको औसत लक्ष्य प्रस्तुत गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको १८ औं खेलमा बागमतीले लुम्बिनीसमक्ष २२१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको बागमतीले उत्कृष्ट सुरुवात गर्यो । ओपनरद्वय आकाश थापा र आदिल खानले अर्धशतकीय साझेदारी गरे । आकाश थापा ३९ रन बनाएर पेभेलियन फर्के पनि अर्का ओपनर आदिल खानले ५५ रनको पारी खेलेर टोलिको योगफल १२८ रनसम्म पुर्याउनुभयो । उहाँले ८७ बलको सामना गर्दै पाँच चौका र तीन छक्का लगाउनुभयो ।
मध्यक्रममा बिभत्सु थापा डक आउट हुँदा पृथु बाँस्कोटा २९ रनको योगदान दिनुभयो । इशान पाण्डेले ५३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५१ रनको योगदान दिनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाएर एलबीडब्ल्युको धरापमा पर्नुभयो । विपिन आचार्य, गौतम केसी र राम नरेश गिरीले दोहोराे योगफल छुन सकेनन् । नन्दन यादवले ११ रन बनाएर अविजित रहँदा बागमतीले ५० ओभरमा नौ विकेटको क्षतिमा २२० रनको योगफल तयार गर्न सफल भयो ।