गोरखापत्र अनलाइन
पथरीशनिश्चरे(मोरङ), माघ ११ गते । सडन डेथमा विराटनगर फुटबल क्लबलाई हराउँदै दूधे फुटबल क्लब पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ७० मिनेटको खेलमा १–१ गोलको बराबरी र टाईव्रेकरमा ४–४ गोलको बराबरी भएपछि अन्तिम निर्णय सडन डेथ बाट गरिएको हो । खेलमा अग्रता लिएको विराटनगर फुटबल क्लबले ४ मिनेट सम्हालिएर खेल्न नसक्दा उपाधि होडबाट बाहिरिएको हो । खेलको ४३ औं मिनेटमा विराटनगरका आषिस चौधरीले टोलीका लागि पहिलो गोल गर्नुभयो । ६६ औं मिनेटमा दूधे फुटबल क्लबका सनम राईले १ गोल गर्दै खेललाई बराबरीमा पु¥याउनु भयो ।
१–१ गोलको बराबरीपछि खेलको अन्तिम निर्णय सोझै टाइव्रेकरबाट भएको थियो । टाइव्रेकरमा दूधेका तर्फबाट रजिन माझी, विमन राई, सनम राई, र सागर साँवाले गोल गर्नुभयो । यस्तै विराटनगरका तर्फबाट दुर्जे तामाङ,सुनील खड्का, ध्रुव राई र मिक्चन तामाङले गोल गर्नुभयो ।
सडन डेथमा विराटनगरको प्रहार बचाउ गर्ने दूधेका गोलरक्षक आजको खेलमा म्यान प्लेयर द म्याच घोषित हुनुभयो । सेमिफाइनलमा स्थान सुनिश्चित गर्त आइतबार बेलबारी फुटबल क्लब र इलामको योङ ब्रदर्स सिरिजंघाबीच खेल हुनेछ ।