गोरखापत्र अनलाइन
काठमाडौं, माघ ११ गते । इटाली सिरी ए मा एटलान्टाले एसिमिलानमाथि ३–० को जित हात पारेको छ । सिरी ए को शीर्षस्थानमा रहेको एसिमिलान हारसँगै दोस्रो स्थानको इन्टरसँग मात्र दुई अङ्कको अग्रतामा सीमित हुन पुगेको छ ।
रोबिन गोसेन्सको कर्नरलाई क्रिष्टियान रोमेरोले २६ औं मिनेटमा गोलको दिशा दिएर एटलान्टालाई १–० को अग्रता दिलाउनुभयो । खेलको ५३ औं मिनेटमा मिलानका फ्रयाङ्क केसीले जोसिप इलिसिसलाई लडाएपछि एटलान्टाले पाएको पेनाल्टीलाई जोसिपले गोलमा परिणत गर्नुभयो । एटलान्टाले दोस्रो हाफको सुरुवातमा २–० को अग्रता कायम गर्यो ।
डुभान जपाटाले ७७ औं मिनेटमा गर्नुभएको गोलले एसिमिलानमाथि एटलान्टाको ३–० को जित सुनिश्चित गर्नुभयो । एटलान्टा एसिमिलानलाई सिरी ए मा हराउने दोस्रो टोली हो । मिलानमाथि जितसँगै एटलान्टा चौथो स्थानमा उक्लेको छ ।
इन्टर मिलानले यूडिनिजसँग गोलरहित बराबरी खेलेपछि सिरी ए तालिकाको शीर्षस्थानमा उक्लिने अवसर खेर फाल्यो । इन्टरले सामान १९ खेलबाट ४१ अङ्क बटुलेको हो ।