भरतपुर समाचारदाता
चितवन, माघ २४ गते । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि आर्थिक सहयोग जुटाउन शनिबार रङ्गशालाको मिनी ग्राउन्डमा कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ । मैत्रीपूर्ण एक दिवसीय खेल भरतपुर महानगर प्रमुख रेनु दाहालले ब्याटिङ र धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्घाटन गर्नुभएको हो । ‘स्टार क्रिकेट २०२१’ नामाकरण गरिएको एक दिवसीय प्रयोगितामा नेपाली फिल्म, सङ्गीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी दुई समूहमा चार टिममा बाँडिएर क्रिकेट खेलेका छन् ।
प्रतियोगितामा सहभागी बन्न दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृङ्खला खतिवडा, बेनिशा हमाल, सङ्गीना वैद्य, प्रशान्त ताम्राकार,रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी लगायत शुक्रबार नै चितवन आइपुगेर पूर्वअभ्यास गर्नुभएको थियो ।
गृष्म ब्रोडकास्टिङ मिडियाको संयोजनमा भएको उक्त प्रतियोगितामा सङ्कलित रकम रङ्गशाला निर्माणको लागि प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
मैत्रीपूर्ण खेलको उद्घाटन गर्दैै महानगर प्रमुख दाहालले क्रिकेट रङ्गशाला निर्माण महानगरको मात्र नभएर देशकै गौरवको आयोजना भएकाले यसलाई निर्धारित समयमा निर्माण सम्पन्न गर्न सबै प्रकारको सहयोग जुटाइने बताउनुभयो ।
उक्त रङ्गशाला निर्माणको लागि एक वर्ष अगाडि ‘हामी बनाउँछौ हाम्रो रङ्गशाला’ भन्दै रकम सङ्कलन गर्न धनधान्याचल महोत्सव गरिएको थियो । महोत्सवमा नगद र जिन्सी सहित गरेर ६९ करोड रुपियाँ सहयोग सङ्कलनको प्रतिवद्धता भएको भएपनि एक चौथाई रकम मात्र सङ्कलन भएको छ । स्रोतका अनुसार पाँच हजार देखि एक लाख रुपिंयाँ सम्म सर्वसाधारणबाट बोलकबोल भएको रकम तत्काल संकलन भएको भएपनि धेरैधेरै रकम बोल्ने दाताहरुले भने अझै आफूले बोलकबोल गरेको रकम भुक्तानी गरेका छैनन् ।
सङ्घीय सरकारको सहमतिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गर्न बाँकी रहेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० विघा जमिन भरतपुर महानगरपालिकाले अर्को जमिन सट्टाभर्ना दिने गरी क्रिकेट रङ्गशाला निर्माणको लागि प्रदान गरेकोे थियो ।
दुई अर्ब ५० करोड रुपियाँभन्दा बढी लाग्ने पूर्वानुमान गरिएको उक्त रङ्गशाला निर्माणको काम भइरहेको भएपनि पछिल्लो समयमा रकम अभाव देखिएको बताइएको छ ।