गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ् नगरपालिकालाई हराएको छ । लिग उपाधिको होडलाई जिवित राख्न आर्मीले वालिङ्गलाई २–० को गोल अन्तरले हराएको हो ।
मङ्गलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न राष्ट्रिय महिला लिगको पाँचौं खेलमा आर्मीले वालिङ्लाई हराएको हो । आर्मीको जितमा शर्मिला थापा र विमला चौधरीले सामान एक एक गोल गर्नुभयो । थापाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाउनुभयो । हाफ टाइम आउन तीन मिनेट बाँकी रहँदा विमला चौधरीले गोल थप्दै आर्मीको वालिङ्गमाथि २–० को जित सुनिश्चित गर्नुभयो ।
जितसँगै त्रिभुवन आर्मीले लिगको शीर्षस्थानमा रहेको सशस्त्र प्रहरी बल(एपीएफ)सँगको अङ्क दूरी कम गरेको छ । एपीएफ भन्दा दुई अङ्क कम रहेको आर्मी तालिकाको दोस्रो स्थानमा छ । वालिङ्ग तेस्रो तथा विराटनगर चौथो र नेपाल पुलिस पाँचौं स्थानमा छ ।