गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन २ गते । रश्मि घिसिङ्गले चार गोल गरेपछि त्रिभुवन आर्मी क्लबले चन्द्रपुरलाई फराकिलो अन्तरले हराएको छ । महिला लिग अन्तगर्तको आफ्नो दशौं खेलमा आर्मीले चन्द्रपुरमाथि ६–१ को फराकिलो अन्तरको जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा आर्मीका लागि रश्मि घिसिङ्गले चार गोल गर्नुभयो । उहाँले खेल सुरु भएको दशौं मिनेटमा गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाउनुभयो । २२ औं मिनेटमा घिसिङ्गले आफ्नो दोस्रो गोल पुरा गर्नुभयो । एक मिनेट नबित्दै बिमला चौधरीले आफ्नो पहिलो गोल थप्दै आर्मीलाई ३–० को अग्रतामा पुर्याउनुभयो । पहिलो हाफको थपिएको समयमा रजनी थोकरले गोल फर्काएर खेलमा रौतहटलाई बापसी गराउनुभयो ।
रोजिना श्रेष्ठले रश्मि घिसिङ्गलाई लडाउन पुग्दा ५० औं मिनेटमा त्रिभुवन आर्मीले पेनाल्टीको अबसर पायो । र उक्त अबसरलाई समेत घिसिङ्गले गोलमा परिणत गर्दै आफ्नो हयाट्रिक गोल पुरा गर्दै आर्मीको चन्द्रपुरमाथि ४–१ को अग्रता दिलाउनुभयो । ५६ औं मिनेटमा चौधरीले ब्यक्तिगत् दोस्रो र आर्मीका लागि पाँचौं गोल पुरा गर्दा घिसिङ्गले पाँच मिनेट नबित्दै ब्यक्तिगत् चौथो र आर्मीका लागि छैठौं गोल पुरा गर्दै चन्द्रपुरमाथि ६–१ जित सुनिश्चित गर्नुभयो ।
त्रिभुवन आर्मी लिगको तेस्रो स्थानमा रहेको स्याङ्गजाको वालिङ्गभन्दा ११ अङ्कको अग्रता लिएको छ । र चन्द्रपुरमाथि जितसँगै त्रिभुवन आर्मीले जारी लिगमा कम्तिमा दोस्रो स्थान पक्का गर्ने सुनिश्चित भएको छ । शीर्ष स्थानको एपीएफभन्दा ऊ दुई अङ्कले मात्रै पछाडि रहेको छ । यद्दपी उसले एपीएफभन्दा एक खेल बढी खेलेको छ ।