गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ३ गते । सशस्त्र प्रहरी बल(एपीएफ) राष्ट्रिय महिला लिगको उपाधि जित्नबाट एक जित मात्रै टाढा छ । एपीएफले नेपाल पुलिसलाई २–१ ले हराएपछि बाँकी रहेको दुईमध्ये एक खेलमा जित हात पारे ऊ उपाधि जित्नेछ ।
एपीएफले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबभन्दा पाँच अङ्कको अग्रता कायम गरेको छ । दुबै टोलिले दुई खेल खेल्न बाँकी छ । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसविरुद्धको अर्को खेलमा हार बेहोरे वा बराबरी खेले पनि एपीएफले उपाधि उचाल्नेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सम्पन्न खेलमा एपीएफका लागि रबिना गोलेले एक गोल गर्नुभयो । उहाँको गोल निर्णायक रह्यो । त्यसअघि घिमकुमारी गुरुङ्गले आफ्नै पोष्टमा गोल गरेपछि एपीएफले अग्रता कायम गरेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि सुष्मा तामाङ्गको प्रहार गुरुङ्गलाई छोएर पोष्टमा छिरेपछि एपीएफले अग्रता बनायो । ७५ औं मिनेटमा अमृता जैसीको प्रहार गोलमा परिणत हुँदा नेपाल पुलिसले खेलमा १–१ को बराबरी गर्यो । पुलिसकी अमृता जैसी जारी राष्ट्रिय महिला लिगमा एपीएफको पोष्टमा गोल गर्नुहुने पहिलो खेलाडी बन्नुभयो ।
एपीएफले लिगमा पहिलो पटक अङ्क गुमाउन जोखिम बढिरहँदा रबिना गोलेले ७५ औं मिनेटमा गोल गरेर पुलिसमाथि २–१ को सुनिश्चित गर्नुभयो ।