logo
२०८१ मंसिर १० सोमवार



चौदण्डीगढीको लगातार ११ औं हार

खेलकुद |


चौदण्डीगढीको लगातार ११ औं हार
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ४ गते । राष्ट्रिय महिला लिगमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले लगातार ११ औं हार बेहोरेको छ । गोलरक्षक रबिना माया घलानले सामान्य प्रहार छेक्न नसक्दा चौदण्डीगढीले हार बेहोर्नुपर्यो ।
राष्ट्रिय महिला लिग अन्तगर्त मङ्गलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चन्द्रपुरले चौदण्डीगढीलाई २–१ ले हराएको हो । चन्द्रपुरका लागि दिलकुमारी राना मगर र रजनी थोकरले एक एक गोल गर्नुभयो । चन्द्रपुरको प्रतियोगितामा यो तेस्रो जित हो ।
पहिलो हाफमा थपिएको समयमा चौदण्डीगढीका गोलरक्षक रबिना माया घलानले रजनीको प्रहारलाई रोक्न नसक्दा चन्द्रपुरले जित हात पारेको हो । ६७ औं मिनेटमा दिलकुमारी राना मगरले गोल गर्दै चन्द्रपुरलाई २–० को अग्रता दिलाउनुभयो । एक मिनेट नबित्दै मनिता तामाङ्गले चौदण्डीगढीका लागि गोल फर्काउँदै खेल २–१ को स्थितिमा ल्याउनुभयो ।
सात टोलि सम्मिलित महिला लिगमा चन्द्रपुर अब छैठौं स्थानमा चित्त बुझाउनुपर्नेछ । उसको नौ अङ्क छ । उसले अब लिगको अन्तिम खेल खेल्न मात्रै बाँकी छ । चौदण्डीगढी भने अङ्कविहीन बन्न पुगेको छ । उसले प्रतियोगिताको कुनै खेलमा जित हात पार्न सकेको छैन् भने बराबरी समेत खेल्न सकेको छैन् ।
शीर्ष स्थानको सशस्त्र प्रहरी बल(एपीएफ)ले १० खेलबाट ३० अङ्क बटुलेको छ । ऊ प्रतियोगितामा अपराजित छ । दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको २५ अङ्क छ । आर्मीले दश खेलमध्ये आठमा जित, एउटामा हार र अर्को बराबरी खेलेको छ । आर्मी र एपीएफ दुबैले अब दुई खेल खेल्न बाँकी छ ।
बिराटनगर भने ११ खेलमध्ये पाँचमा जित र पाँचमा हार तथा एक बराबरी खेल्दै १६ अङ्कसहित तेस्रो स्थानमा छ । उसले अब एक खेल खेल्न बाँकी छ । चौथो स्थानको वालिङ्ग नगरपालिकाले ११ खेलबाट १४ अङ्क बटुलेको छ । उसले समेत एक खेल खेल्न बाँकी छ । नेपाल पुलिस भने १० खेलमध्ये चारमा जित र चारमा हार तथा दुई बराबरी खेल्दै १४ अङ्क बटुलेपनि पाँचौं स्थानमा छ ।
चन्द्रपुरले भने हालसम्म तीन खेलमा मात्रै जित हात पार्न सकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?