logo
२०८१ मंसिर १० सोमवार



दक्षिण अफ्रिकी ब्याट्सम्यान डु प्लेसिसले सन्यास लिए

खेलकुद |


दक्षिण अफ्रिकी ब्याट्सम्यान डु प्लेसिसले सन्यास लिए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ५ गते । दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । दक्षिण अफ्रिकाले तात्काल कुनै टेष्ट खेल्ने तालिका नरहेकोमा डु प्लेसिसले सन् २०२१ र २०२२ को विश्वकप टी ट्वान्टीमा केन्द्रित रहन सन्यासको घोषणा गरेको बताउनुभएको हो ।
डु प्लेसिसले एक वक्तब्य जारी गरी लेख्नुभएको छ, “दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरी क्रिकेटको जम्मै स्वरुपमा खेल्नु आफ्नो लागि गर्वको विषय हो, तर अब भने टेष्ट क्रिकेटबाट सन्यासको बेला आइसकेको छ ।” “१५ वर्ष अघि कसैले म ६९ टेष्ट खेल्नुका साथै दक्षिण अफ्रिकाको कप्तान हुने बताएको भए म पत्याउने थिइँन ।”– उहाँले वक्तब्यमा भन्नुभएको छ ।
३६ वर्षीय डु प्लेसिसले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरी सन् २०१२–१३ मा एडिलेडमा अन्तर्राष्ट्रिय टेष्टमा पदार्पण गर्नुभएको थियो । पहिलो टेष्टको पहिलो पारीमा उहाँले ७८ र दोस्रो पारीमा अविजित ११० रन बनाउनुभयो । उक्त खेल बराबरीमा सम्पन्न हुँदा डु प्लेसिस प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।
अन्तर्राष्ट्रिय टेष्टमा उहाँले दश शतक र २१ अर्धशतक लगाउनुभएको छ । ४०.०२ को औसतले टेष्ट क्रिकेटमा उहाँले चार हजार १६३ रन बनाउनुभएको छ । सन् २०१६ मा अब्राहम डिभिलियर्सले सन्यासको घोषणा गर्दा उहाँ टेष्ट टोलीको कप्तान नियुक्त हुनुभयो । दक्षिण अफ्रिकालाई ३६ टेष्ट खेलमा नेतृत्व गर्नुभएका उहाँले सन् २०२० को फेब्रुअरीमा इंग्ल्याण्डविरुद्धको घरेलु टेष्ट श्रृखंलामा ३–१ को हार बेहोर्दा कप्तानको पदबाट राजिनामा गर्नुभयो ।
उहाँको नेतृत्वमा दक्षिण अफ्रिकाले १८ टेष्ट खेलमा जित र १५ मा हार बेहोरेको थियो । उहाँ नेतृत्वको टोलिले सुरुको २७ टेष्ट खेलमध्ये १७ मा जित हात पारे पनि पछि रेकर्ड बिग्रिन गई लगातार आठ टेष्ट खेलमा हार बेहोर्नुपर्यो ।
डु प्लेसिसले १४३ अन्तर्राष्ट्रिय एकदिवसीय खेल र ५० टी ट्वान्टीमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?