गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १० गते । म्यान्चेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार १८ औं जित हात पारेको छ । जितको श्रृखंलालाई लम्ब्याउन उसले पछिल्लो खेलमा आर्सनललाई उसको घरेलु मैदानमा हराएको हो ।
प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यान्चेष्टर सिटीले डिसेम्बर १५ यता अङ्क गुमाएको छैन् । प्रिमियर लिगको जारी संस्करण सकिन १३ खेल बाँकी छँदा सिटीले दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेडभन्दा दश अङ्कको अग्रता कायम गरेको छ । तेस्रो स्थानको लेष्टरले सामान २५ खेलबाट अङ्कतालिकामा म्यान यूनाइटेडको बराबरी गरेको छ । दुबैको ४९ अङ्क छ ।
खेलको सुरुदेखि नै उच्च मनोबलमा देखिएको सिटीले दोस्रो मिनेटमा पाएको अग्रतालाई नै आर्सनललाई हराउन निर्णायक बनायो । रहिम स्टर्लिङ्गले रियाद महरेजको क्रसलाई हेडरमार्फत गोलको दिशा दिनुभयो । रहिमले प्रिमियर लिगको जारी संस्करणमा आफ्नो ९ औं गोल पूरा गर्नुभयो ।