गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १० गते । टम मुडी क्रिकेट श्रीलङ्काका निर्देशक नियुक्त हुनुहुने भएको छ । उहाँलाई क्रिकेट श्रीलङ्काले तीन वर्षका लागि अनुबन्धन गर्न लागेको हो ।
क्रिकेट श्रीलङ्काले हालै आफ्नो विधान संशोधन गर्दै निर्देशकको पद सृजना गरेको छ । मुडीले अष्ट्रेलिया, इंग्ल्याण्ड र भारतमा क्रिकेटको बनावटको अनुभवलाई श्रीलङ्काली क्रिकेटको प्रगतिमा उतार्ने विश्वास लिइएको छ । श्रीलङ्काका पूर्व क्रिकेटर समेत रहनुभएका अरविन्दा डी सिल्भाले मुडीको अनुभव श्रीलङ्काली क्रिकेटको स्तर उकास्न महत्वपूर्ण हुने विश्वास लिनुभएको छ । डी सिल्भाले श्रीलङ्काको खेलकूद मन्त्रालय मातहातको प्राबिधिक समितिको नेतृत्व गर्नुभएको छ । उक्त समितिमा रोशन महानामा, मुतैया मुरलिथरन र कुमार संगाकारा समेत हुनुहन्छ । चारै जना सम्मिलित टोलीले मुडी नियुक्तिको सिफारिस गरेको छ ।
टम मुडी हाल इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराइजर्स हैदराबाद फ्रेञ्चाइजको निर्देशकको भूमिकामा हुनुहुन्छ । श्रीलङ्काली क्रिकेट बोर्डले निर्णय गरे लगत्तै उहाँ निर्देशकको रुपमा नियुक्त हुनुहुनेछ । उहाँलाई तीनवर्षे कार्यकालको लागि अनुबन्धन गरिने बताइएको छ ।