गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १२ गते । क्रिस गेल पछिल्लो दुई वर्षमा पहिलो पटक वेष्टइन्डिजको टी ट्वान्टी अन्तर्राष्ट्रिय टोलीमा पुनरागमन गर्नुहुने भएको छ । मार्च महिनामा वेष्टइन्डिजले श्रीलङ्काको भ्रमणमा जाँदा क्रिस गेल टोलीमा सहभागी हुन सक्ने जनाइएको छ ।
वेष्टइन्डिजले यसै साताको अन्त्यसम्म श्रीलङ्का भ्रमण गर्ने टोलीको घोषणा गर्दैछ । गेल हाल क्वेटा ग्लाडिएटर्सको प्रतिनिधित्व गरी पाकिस्तान सुपर लिगमा सहभागी हुनुभएको छ । पाकिस्तान सुपर लिग जारी रहँदा बीचमै उहाँ वेष्टइन्डिज फर्किनुहुनेछ ।
वेष्टइन्डिज क्रिकेट बोर्डले टोलीको घोषणा गर्नुअघि क्रिस गेलको ‘फिटनेश’ परीक्षण गर्नेछ । टोलीमा उहाँको पुनरागमन भए सन् २०१९ को अगष्ट महिना यता क्रिस गेल पहिलो पटक क्रिकेटको कुनै स्वरुपमा वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुहुनेछ । उहाँले सन् २०१९ को अगष्टमा पछिल्लो पटक भारतविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्नुभएको थियो । तर टी ट्वान्टी अन्तर्राष्ट्रियमा उहाँले सन् २०१९ को मार्चमा इंग्ल्याण्ड विरुद्ध खेल्नुभएको थियो ।
क्रिस गेलले श्रीलङ्कामा तीन म्याचको टी ट्वान्टी श्रृखंला खेलेर मार्च ७ मा फेरी पाकिस्तान सुपर लिग खेल्न इस्लामाबाद पुग्नुहुनेछ । क्यारन पोलार्डको नेतृत्वमा रहेको वेष्टइन्डिज टी ट्वान्टी विश्वकपको विजेता समेत हो । विजेताको उपाधि रक्षा गर्न गेलको आगमनलाई महत्वका साथ हेरिएको छ ।