गोरखापत्र अनलाइन
जलेश्वर, फागुन १५ गते । महोत्तरीमा आगामी महिना जिल्ला अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा महोत्तरीका १५ वटा स्थानीय तहले भाग लिने अपेक्षा राखिएको छ ।
जिल्ला क्रिकेट संघले महोत्तरीको जलेश्वरमा एक पत्रकारको सम्मेलनको आयोजना गरी विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल क्रिकेट प्रतियोगिताको आयोजना चैत्त १५ गतेदेखि हुने जानकारी गराएको छ । क्रिकेट खेलाडीद्वय विशाल गुप्ता र कुन्दन सिंहको स्मृतिमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
संघका अध्यक्ष रोशन सिंहले घरेलु क्रिकेटलाई मजबूत बनाउन प्रतियोगिताको आयोजना गर्न लागेको बताउनुभयो । “गाउँ–टोलबाट नयाँ ऊर्जावान खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखेका छौं”– संघका अध्यक्ष रोशन सिंहले बताउनुभयो ।
संघका अध्यक्ष रोशन सिंहले पचास ओभरको प्रतियोगिताको विजेता टोलिलाई एक लाख एक हजार रुपियाँसहित ट्रफी प्रदान गरिने बताउनुभयो । उपविजेताले ५१ हजार रुपियाँसहित ट्रफी पाउनेछ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले २० हजार रुपियाँबाट पुरस्कृत हुनेछ । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले दश दश हजार रुपियाँ पुरस्कार पाउनेछन् । उदयीमान खेलाडीले भने १५ हजार रुपियाँबाट पुरस्कृत हुनेछ ।
प्रतियोगितामा सहभागिताको सुनिश्चित गर्न प्रत्येक पालिकालाई फागुन २० गतेदेखि चैत्त १० गतेसम्मको म्याद दिइएको छ । चैत्त १५ गते खेल तालिका सार्वजनिक गरिनुका साथै टोलिका सदस्यहरुलाई पोशाक वितरण गरिनेछ ।
जलेश्वर रङ्गशालामा हुने प्रतियोगितामा करिब ३२ लाख खर्च लाग्ने अनुमान गरिएको जिल्ला क्रिकेट संघ, महोत्तरीका अध्यक्ष सिंहले बताउनुभयो ।