गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । काठमाडौंमा यसै साताको अन्त्यदेखि सुरु हुने मेयर कप क्रिकेट प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले टोलीको घोषणा गरेको छ । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका छ वटा प्रदेशका खेलाडीलाई मेयर ११ मा स्थान दिइएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)का सचिब अशोकनाथ प्याकुरेलले मेयर कप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरिएको जनाउनुभएको छ । टोलीका कप्तानको जिम्मेवारी टुंगो लागेको छैन । टोलीमा सिद्धान्त लोहनी, विवेक यादब, हरिशंकर साह, विपिन खत्री, अर्जुन कुमाल, कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल हुनुहुन्छ ।
त्यसैगरी, टोलीका अन्य सदस्यहरुमा सन्दीप रजाली, अनुज चुनारा, विपिन रावल, रवीन्द्र जङ्ग शाही, खड्गबहादुर बोहरा र नारायण जोशी हुनुहुन्छ ।
काठमाडौं महानगरपालिकाको सहयोगमा मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गते शनिबारबाट सुरु हुँदैछ । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेको चार टोली र काठमाडौं महानगरपालिकाको एक गरी कुल पाँच टोली सहभागी हुनेछ । लिग चरणमा उत्कृष्ट हुने दुई टोली फाइनलमा उपाधिका लागि भिड्नेछन् ।
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचाल्दा नेपाल पुलिस, बागमती र एपीएफ क्लब सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा त्रिभुवन आर्मीले एपीएफको सामना गरेको थियो । प्रधानमन्त्री कपमा सेमिफाइनलसम्म पुगेको चार टोलि र सबै प्रदेशबाट खेलाडी चयन गरिएको काठमाडौं महानगरपालिका टोली गरी पाँच टोली मेयर कपमा सहभागी हुने स्वरुप तय गरिएको छ । बागमती प्रदेश सेमिफाइनलसम्म पुगेकोले उसको छुट्टै टोली रहनेछ ।