गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । जिम्बाबवे विरुद्धको पहिलो टेष्ट खेलमा अफगानिस्तान हार नजिक पुगेको छ । पहिलो पारीमा एक सय १९ रनले पछाडि परेको अफगानिस्तानले आफ्नो दोस्रो पारीमा ७१ रन जोड्दा छ विकेट गुमाउन पुगेको छ । अफगानिस्तान पहिलो पारीमा ४८ रनले पछाडि परेको छ भने उसको चार विकेट मात्रै बाँकी छ ।
अफगानिस्तानका लागि ओपनर इब्राहिम जर्दनले अविजित ३९ रनको योगदान गर्नुभएको छ । कप्तान अश्गर अफगानले १४ रन बनाएर पेभेलियन फर्किनुभयो । जर्दनसँगै अब्दुल वसि नौ रन बनाएर अविजित हुनुहुन्छ ।
जिम्बाबवेका लागि भिक्टर नौचीले सर्वाधिक तीन तथा ब्लेसिङ्ग मुजबानीले दुई र सीन विलियम्सले एक विकेट लिनुभएको छ ।
त्यसअघि, यूएईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अफगानिस्तानले कमजोर सुरुवात गर्दै आठ रनमै दुई विकेट गुमाउन पुग्यो । ओपनर इब्राहिम जर्दनले ३१ रनको पारी खेलेर स्थिरता दिने प्रयास गरेपनि उहाँ लामो समयसम्म क्रिजमा टिक्न सक्नुभएन । विकेटकीपर ब्याट्सम्यान अफसर जजैले सबैभन्दा बढी ३७ रनको योगदान दिदा अफगानिस्तान झिनो योगफलमा समेटिनबाट जोगियो ।
जिम्बाबवेका लागि तीब्र गतिका बलर ब्लेसिंग मुजर्बानीले सर्वाधिक चार विकेट लिनुभयो । भिक्टर न्यौचीले तीन तथा डोनाल्ड ट्रिपानो, सिन विलियम्स र सिकन्दर राजाले सामान एक एक विकेट लिनुभयो ।
जवाबमा जिम्बाबवेले कप्तान सीन विलियम्सको शतकको सहयोगमा पहिलो पारीमा २५० रनको औसत योगफल तयार गर्न सफल भयो । विलियम्सले १०५ रनको योगदान दिनुभयो । सिकन्दर राजाले ४३ तथा रागिस चकाभाले ४४ रन बनाउनुभयो ।
अफगानिस्तानका लागि आमिर हाम्जाले सर्वाधिक छ, जहिर खानले दुई तथा इब्राहिम जर्दन र यामिन अहमदजैले सामान एक एक विकेट लिनुभयो ।