गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । युभेन्ट्सले लाजिओमाथि ३–१ को जित हात पारेको छ । इटाली सिरी ए मा गए राति सम्पन्न खेलमा युभेन्ट्सले लाजिओमाथि जित हात पारेको हो ।
लाजिओको लागि जोक्विन कोरैयाले १४ औं मिनेटमै सुरुवाती गोल गर्दै युभेन्ट्समाथि १–० को अग्रता दिलाउनुभयो । एड्रिएन रबियोटले ३९ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा युभेन्ट्सको पुनरागमन गराउनुभयो । अल्भारो मोराटाले त्यसपछि लगातार दुई गोल गर्दा युभेन्ट्सले लाजिओमाथि ३–१ को जित हात पार्न सफल भयो । मोराटाले ५७ औं मिनेटमा आफ्नो पहिलो गोल थप्दा ६० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै दोस्रो गोल पूरा गर्नुभयो ।
आन्द्रे पिर्लोको युभेन्ट्स लाजिओमाथि जितसँगै ५२ अङ्कसहित इटाली सिरी ए को तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको एसी मिलानभन्दा ऊ एक अङ्कको दूरीमा छ भने शीर्षस्थानको इन्टर मिलानको ५९ अङ्क छ ।