गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । म्यान्चेष्टर सिटीको अपराजित यात्रा टुंगिएको छ । एत्तिहाद रङशालामा म्यान्चेष्टर सिटीले म्यान्चेष्टर यूनाइटेडबाट २–० को हार बेहोरेको हो । गत् नोभेम्बर २१ मा टट्टनहमबाट पराजित भएपछिको म्यान्चेष्टर सिटीको यो पहिलो हार हो ।
म्यान्चेष्टर सिटीलाई हराउन म्यान्चेष्टर यूनाइटेडका ब्रुनो फर्नान्डिसले दोस्रो मिनेटमै गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । खेल सुरु भएको ३० सेकेण्डमै गेब्रिल जिससले एन्टोनी मार्सललाई लडाउँदा म्यान्चेष्टर यूनाइटेडले पेनाल्टीको अबसर पाएको थियो ।
म्यान्चेष्टर यूनाइटेडले घर बाहिर लगातार २२ खेलमा अपराजित छ । जसमध्ये १४ मा उसले जितेको छ । पछिल्लो तीन खेलमा कुनै गोल गर्न नसकेको यूनाइटेडले सिटीलाई हराएर ५४ अङ्कसहित पुनः दोस्रो स्थानमा उक्लेको छ । तेस्रो स्थानको लेष्टरको ५३ अङ्क छ । शीर्ष स्थानको सिटीले स्पष्ट ११ अङ्कको अग्रता कायम गरेको छ ।