गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २५ गते । नेपाल पुलिस क्लबका सागर ढकाल र पवन सर्राफले उत्कृष्ट बलिङ्ग गरेपछि त्रिभुवन आर्मी क्लब ८७ रनको झिनो योगफलमा समेटिएको छ । मेयर कप क्रिकेट अन्तगर्तको सातौं खेलमा त्रिभुवन आर्मीले ३० ओभर एक बलमा मात्र ८७ रनको योगफलमा समेटिएको छ ।
मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको त्रिभुवन आर्मीले ३२ रनमै सात विकेट गुमाएर कमजोर सुरुवात गर्यो । पवन सर्राफ र सागर ढकालले आठ विकेट बाँडेपछि आर्मी झिनो योगफलमा खुम्चिन पुग्यो ।
लोकेश बलमे ३२ रनको पारी खेल्दै आर्मीको योगफल ८७ रनसम्म पुर्याउनुभयो । उहाँले बिक्रम सोबसँग ९ औं विकेटका लागि ४१ रनको साझेदारी गर्नुभयो । बिक्रम सोब १४ रन बनाएर पेभेलियन फर्किनुभयो । मध्यक्रममा रोहित पौडेलले १३ रनको योगदान दिनुभयो । उसको पारीका सात जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन । सातौं नम्बरमा ब्याटिंग गर्न आउनुभएका कप्तान बिनोद भण्डारी समेत तीन रनको ब्यक्तिगत् योगफलमा सागर ढकालको बलमा बोल्ड हुनुभयो ।
पवन सर्राफले आफ्नो दश ओभरको स्पेलमा पाँच मैडन राख्दै मात्र १४ रन खर्चेर हरि चौहान, कुशल मल्ल र सुशन भारीको विकेट लिनुभयो । ढकालले दश ओभरमा ४० रन खर्चेर ओपनर सोमपाल कामी, राजु रिजाल, रोहित पौडेल, राजेश पुलामी र कप्तान बिनोद भण्डारीको विकेट लिनुभयो । ललित राजवंशीले बिक्रम सोब र लोकेश बमको विकेट लिनुभयो ।