एजेन्सी
काठमाडौं, फागुन २५ गते । नोभाक जोकोभिचले रोजर फेडेररको लामो समयसम्म विश्व वरीयता शीर्षस्थानमा रहने कीर्तिमान भङ्ग गर्नुभएको छ । रोजर फेडेरर ३१० सातासम्म विश्व वरीयताको शीर्ष स्थानमा रहनुभएको कीर्तिमान ३३ वर्षीय जोकोभिचले सोमबार भङ्ग गर्नुभएको हो । विश्व टेनिस वरीयताको ४८ वर्षको इतिहासमा जोकोभिचले नयाँ कीर्तिमान बनाउनुभएको हो ।
बीबीसीसँगको कुराकानीमा जोकोभिचले भन्नुभएको छ, “यहाँसम्म आइपुग्न धेरै रगत, पसिना र आँसु बगाएको छु ।” आफ्नो परिवारले सुरुका दिनदेखि निरन्तर सहयोग गर्दा आफू वर्तमान अवस्थामा पुगेको उहाँले बताउनुभयो । गत् महिना मेलबर्नमा नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको पुरुष विधातर्फको एकल उपाधि हात पार्नुभयो । यो उहाँको १८ औं ग्रान्ड स्लाम उपाधि हो भने ९ औं अष्ट्रेलियन ओपनको उपाधि हो ।
जोकोभिच यसअघि सबैभन्दा लामो समयसम्म विश्व वरीयताको शीर्षस्थानमा रहेको सन् २०१४ को जुलाइदेखि सन् २०१६ को नोभेम्बरसम्म हो । जोकोभिचले सन् २०२० पछि पहिलो पटक प्रतियोगिता खेल्न लाग्नुभएका रोजर फेडेररप्रति सम्मान ब्यक्त गर्नुभएको छ । ३९ वर्षीय फेडेररले आगामी साता कतार ओपन खेल्न लाग्नुभएको हो ।
जोकोभिचले सन् २००८ मा पहिलो पटक ग्रान्ड स्लामको उपाधि जित्नुभएको थियो ।