गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २५ गते । न्युजिल्याण्ड क्रिकेट टोलीका कप्तान केन विलियम्सन बङ्गलादेश विरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिरिनुभएको छ । कुहिनामा आएको चोटका कारण उहाँले बङ्गलादेश विरुद्धको शृङ्खला गुमाउने हुनुभएको हो ।
देब्रे हातको कुहिनामा आएको चोटका कारण उहाँ आराम गर्नुपर्ने भएको छ । अष्ट्रेलिया विरुद्धको शृङ्खलाको दोस्रो टी ट्वान्टीमा ५३ रनको योगदान गर्नु अतिरिक्त बाँकीको अन्तिम तीन टी ट्वान्टीमा उहाँले दोहोराे योगफल छुन सक्नुभएन । इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्ने प्रतिबद्धता जनाउनुभएको कारण उहाँले सम्भवतः बङ्गलादेश विरुद्धको टी ट्वान्टी शृङ्खलासमेत गुमाउनु हुने बताइएको छ ।
डयुनेडिनमा मार्च २० मा न्युजिल्याण्ड र बङ्गलादेशबीचको एकदिवसीय शृङ्खलाको पहिलो म्याच खेलाइनेछ । त्यसअघि बिहीबार न्युजिल्याण्डले टोलीको घोषणा गर्दैछ ।