logo
२०८१ मंसिर १० सोमवार



बागमतीको पहिलो जित, दुई जितपछि एपीएफको हार

खेलकुद |


बागमतीको पहिलो जित, दुई जितपछि एपीएफको हार
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २५ गते । मेयर कप क्रिकेटको छैठौं खेलमा बागमती प्रदेशले सशस्त्र प्रहरी बल(एपीएफ)लाई २७ रनले हराएको छ । बागमतीले मेयर कप क्रिकेटमा लगातार दुई हारपछि पहिलो जित हात पारेको हो । लगातार पहिलो दुई खेल जितेको एपीएफले भने पहिलो हार बेहोरेको हो ।
बागमतीले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याउँदै एपीएफले खेल सकिन ३१ बल बाँकी छँदै लक्ष्यभन्दा २८ रन टाढा रहन गई २०६ रनमा समेटिन पुग्यो । एपीएफका लागि ओपनर आसिफ शेषले विष्फोटक पारी खेल्दै मात्र ३८ बलमा सात चौका र दुई छक्कासहित ५० रनको पारी खेल्नुभयो । कप्तान शरद भेषावकार चार रनमै पेभेलियन फर्कि शंकर रानाले २९ रनको योगदान दिनुभयो । सन्दीप जोराले मध्यक्रममा २५ तथा अमर रौटेलाले २७ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।
बागमतीका लागि युवा लेग स्पिनर सोनु देवकोटाले दश ओभरमा ४१ रन बनाएर सर्वाधिक छ विकेट लिनुभयो । राम नरेश गिरी र अरियो पौडेलले सामान दुई दुई विकेट बाँड्नुभयो ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको बागमतीले पुरा ५० ओभर खेल्दा छ विकेटको क्षतिमा २३३ रनको योगफल तयार गर्यो । कप्तान ज्ञानेन्द्र मल्लले ५७ रनको योगदान दिनुभयो । १३९ रनमा पाँच विकेट गुमाएको बागमतीको पारीलाई सातौं नम्बरका ब्याट्सम्यान नन्दन यादबले आदिल खानसँग ७३ रनको उत्कृष्ट साझेदारी गरेर उकास्नुभयो । नन्दनले ५६ बलमा सात चौका र दुई छक्कासहित ६० रनको पारी खेल्नुभयो । आदिल खानले ३४ रन बनाउनुभयो ।
एपीएफका लागि किशोर महतो र अमर रौटेलाले सामान दुई दुई तथा अनिवाशन बोहरा र बसन्त रेग्मीले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?