logo
२०८१ मंसिर १० सोमवार



काठमाडौं मेयर ११ माथि पुलिसको १०३ रनको जित

खेलकुद |


काठमाडौं मेयर ११ माथि पुलिसको १०३ रनको जित
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २६ गते । नेपाल पुलिस क्लबले काठमाडौं मेयर ११ लाई १०३ रनले हराएको छ । मेयर कप क्रिकेट अन्तगर्तको आठौं खेलमा पुलिसले मेयर ११ लाई १०३ रनको फराकिलो अन्तरले हराएको हो ।
पुलिसले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याउँदै मेयर ११ ले ३१ ओभर २ बलमा मात्र ९४ रनमा समेटिन पुग्यो । मेयर ११ ले औसत लक्ष्य पछ्याउने क्रममा ३३ रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गर्यो । मध्यक्रममा सन्दीप लामिछानेले मात्र १७ बलमा तीन चौका र दुई छक्कासहित बनाउनुभएको २६ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाउनुभयो ।
पुलिसका लागि पवन सर्राफले सर्वाधिक चार विकेट लिनुभयो । सर्राफले ६.२ ओभरमा मात्र १६ रन खर्चेर चार विकेट लिनुभयो । दिपेन्द्रसिंह ऐरीले आठ ओभरमा तीन मैडन राख्दै १८ रन खर्चेर तीन विकेट लिनुभयो । ललित राजवंशीले दुई तथा सागर ढकालले एक विकेट लिनुभयो ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पुलिसले ४७ ओभर ४ बलमा १९७ रनमा समेटिन पुग्यो । पुलिसले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रन जोड्यो । ओपनर सुनील धमलाले २२ र कुशल भुर्तेलले ३४ रनको योगदान दिनुभयो । दुबैजना ओपनरलाई अफ स्पिनर हरिशंकर साहले विकेट पछाडि खड्ग बोहराद्वारा समात्न लगाइ खेलमा मेयर ११ को वापसी गराउनुभएको थियो ।
अनिल साह छ रनमै पेभेलियन फर्किदा दिपेन्द्र सिंह ऐरीले २४ रन बनाउनुभयो । मध्यक्रममा योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रनको योगदान गरेर पेभेलियन फर्किनुअघि पुलिसले छ विकेटको क्षतिमा १५७ रन जोडेको थियो । अन्त्यमा पवन सर्राफले संयमित पारी खेलेर पुलिसको योगफल औसत योगफलसम्म पुर्याउन प्रयास गरेपनि २८ रनको ब्यक्तिगत् योगफलमा सन्दीप लामिछानेद्वारा बोल्ड हुनुभयो । पुलिसका पूछारका ब्याट्सम्यानले खेलको उत्तराद्र्धमा संयमित पारी खेल्न नसक्दा अन्तिम पाँच ओभरमा चार विकेट गुमाएर मात्र २९ रन जोडयो ।
मेयर ११ का लागि विपिन खत्री, हरिशंकर साह र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?