गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २७ गते । म्यान्चेष्टर सिटीले साउथम्पटनमाथि ५–२ को फराकिलो जित हात पारेको छ । म्यान्चेष्टर सिटीले पछिल्लो खेलमा म्यान्चेष्टर यूनाइटेडबाट पराजित हुन पुग्दा लगातार २१ खेलको अपराजित यात्रा टुंगिन पुगेको थियो ।
प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा सिटीले साउथम्पटनमाथि जित हात पार्दै लिग तालिकामा १४ अङ्कको स्पष्ट अग्रता लिएको छ । म्यान्चेष्टर सिटीको जितमा रियाद महरेज र केभिन डे ब्रुनले दुई दुई गोल गर्नुभयो ।
केभिन डे ब्रुअनले १५ औं मिनेटमा पहिलो गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाउनुभयो । तर लामो समयसम्म उसले अग्रता जोगाउन सकेनन । वार्ड प्रोजले २५ औं मिनेटमा पाउनुभएको पेनाल्टी गोलमा परिणत गरेपछि साउथम्पटनले खेल १–१ को बराबरीमा ल्यायो । ४० औं मिनेटमा रियाद महरेजले गोल गर्दै पहिलो हाफमा अग्रतालाई २–१ को स्थितिमा ल्याउनुभयो ।
थपिएको समयको तेस्रो मिनेटमा गुण्डोगनले गोल थप्दा हाफटाइमसम्म सिटीले साउथम्पटनमाथिको अग्रता ३–१ पुर्यायो । ५५ औं मिनेटमा महरेजले आफ्नो दोस्रो गोल पुरा गर्दा म्यान्चेष्टर सिटीले अग्रतालाई ४–१ सम्म पुर्यायो । तर ची एडम्सले ५६ औं मिनेटमा साउथम्पटनका लागि गोल थप्दा खेल ४–२ को स्थितिमा आयो । ५९ औं मिनेटमा केभिन डे ब्रुनले थप्नुभएको गोलले सिटी ५–२ को जित सुनिश्चित गर्यो ।