गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २७ गते । ब्राजिलको मारुकाना रङशालालाई पेलेको नाममा नामकरण गरिने भएको छ । फुटबलका महान हस्ती पेलेलाई सम्मान दिन नामकरण गर्न लागिएको जनाइएको छ ।
रियो डे जानेरियोको प्रदेश सभामा उक्त रङशालाको नाम परिवर्तनका लागि मतदान भएको थियो । मारुकाना रङशालाको नाम एडसन आर्नेट्स डो नासिमेन्टो–रिये पेले रङशाला राख्न लागिएको हो । एडसन आर्नेट्स डो नासिमेन्टो ८० वर्षीय पेलेको पूरा नाम हो । रियेको अर्थ पोर्चुगल भाषामा राजा हो ।
मतदानपछि रियो डे जानेरियाका गर्भनरले उक्त नामकरणको अनुमति दिएपछि प्रयोगमा आउनेछ । ब्राजिल फुटबल टोलीका सदस्य रहेर विश्वकप फुटबलको उपाधि जिताउनुभएका पेलेले सन् १९६९ मा उक्त रङशालामा आफ्नो फुटबल जिवनको एक हजारौं गोल पुरा गर्नुभएको थियो । भास्को डे गामा विरुद्धको खेलमा उहाँले सान्टोसलाई प्रतिनिधित्व गर्नुभएको थियो ।
मारुकानामा सन् १९५० र सन् २०१४ को विश्वकप फुटबलको फाइनल खेलाइएको छ । सन् २०१६ ओलम्पिकको उद्घाटन समेत मारुकानामै भएको थियो ।
सन् १९५० को फाइनलमा उरुग्वेले ब्राजिललाई हराउँदा कम्तीमा दुई लाख दर्शक मारुकाना रङशालामा प्रत्यक्ष उपस्थित भएको अनुमान गरिन्छ । तर मारुकानाको अहिलेको क्षमता ७८ हजार ८३८ छ ।
सन् १९४० मा एक जना पत्रकार मारियो फिल्होको नाममा उक्त रङशालाको नामाकरण गरिएको थियो । रङशाला निर्माणका लागि पहल गर्नुभएकोले सम्मान स्वरुप रङशाला उहाँको नाममा नामकरण गरियो । तर पछि रङशाला रहेको क्षेत्र मारुकानाको नाममा प्रख्यात हुन पुग्यो ।