logo
२०८१ मंसिर १० सोमवार



एपीएफ फाइनलमा पुग्यो, उपाधिका लागि नेपाल पुलिसको सामना गर्ने

खेलकुद |


एपीएफ फाइनलमा पुग्यो, उपाधिका लागि नेपाल पुलिसको सामना गर्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २७ गते । सशस्त्र प्रहरी बल(एपीएफ) मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । काठमाडौं मेयर ११ लाई सात विकेटले हराउँदै एपीएफले फाइनलमा नेपाल पुलिससँगको भेट सुनिश्चित गरेको छ । पुलिस र सशस्त्रबीचको फाइनल खेल आगामी शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ ।
काठमाडौं मेयर ११ ले प्रस्तुत गरेको १७८ रनको लक्ष्य एपीएफले खेल सकिन २९ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पुरा गरेको हो । ५७ रनमा तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको एपीएफका लागि कप्तान शरद भेषावकारले चौथो विकेटका लागि सन्दीप जोरासँग १२१ रनको अविजित साझेदारी गर्नुभयो । शरद भेषावकारले ६१ र सन्दीप जोराले सर्वाधिक ६२ रनको योगदान गरेर अविजित रहनुभयो । सन्दीप जोराले ७९ बलमा चौकासहित ६२ रन बनाउनुभयो । भेषावकारले ११८ बलको सामना गर्दा पाँच चौका र एक छक्का लगाउनुभयो ।
मेयर ११ का लागि अनुज चुनारा, सन्दीप लामिछाने र अनिल खरेलले एक एक विकेट लिनुभयो । हरि शंकर साहले नौ ओभरमा २५ रन खर्चेपनि विकेटविहीन बन्न पुग्नुभयो ।
त्यसअघि, मूलपानी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मेयर ११ ले ४८ ओभर पाँच बलमा १७७ रनमा समेटिन पुग्यो । मेयर ११ ले ४४ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तेस्रो विकेटका लागि सन्दीप रजालीले हरिशंकर साहसँग ६५ रनको साझेदारी गर्दै पारी उकास्नुभयो । रजाली ४८ रन बनाएर पेभेलियन फर्किनुभयो । लगत्तै साह पनि ३६ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । पूछारमा बिक्रम भूषालले २० तथा कप्तान सन्दीप लामिछानेले ११ रनको योगदान दिनुभयो ।
एपीएफका लागि अविनाश बोहरा र कमल ऐरीले सामान तीन तीन तथा बसन्त रेग्मी, शरद भेषावकार र भुवन कार्कीले सामान एक एक विकेट लिनुभयो । ओपनर खडक बोहरा भने १३ रनको ब्यक्तिगत् योगफलमा रेग्मीद्वारा रन आउट हुनुभयो ।
एपीएफले चार खेलबाट छ अङ्क बटुलेको छ । नेपाल पुलिसले पनि चार खेलबाट छ अङ्कसहित यसअघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ । त्रिभुवन आर्मीले आफ्नो अन्तिम खेलमा बागमती प्रदेशको सामना गर्दैछ । दुबैको सामान दुई अङ्क छ ।
काठमाडौं मेयर ११ ले भने चार खेलबाट मात्र एक खेलमा जित हात पारेर दुई अङ्कसहित अङ्कतालिकाको पूछारमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?