गोरखापत्र अनलाइ
काठमाडौं, फागुन २९ गते । वेष्टइन्डिजले श्रीलङ्काविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल जितेको छ । दोस्रो एकदिवसीयमा जितसँगै घरेलु टोलिले एक खेल अगावै तीन म्याचको एकदिवसीय श्रृखंला २–० ले जितेको छ ।
श्रीलङ्काले प्रस्तुत गरेको २७४ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले खेल सकिन दुई बल बाँकी छँदा पाँच विकेटको क्षतिमा पुरा गर्यो । वेष्टइन्डिजका लागि ओपनर एभिन लेविसले शतकीय पारी खेल्नुभयो । लेविसले साइ होपसँग पहिलो विकेटका लागि १९२ रनको साझेदारी गर्दै जित नजिक पुर्याउनुभयो । लेविस १०३ र होपले ८४ रनको योगदान दिनुभयो । निकोलास पूरनले ३५ रन बनाएर अविजित रहनुभयो । कप्तान क्यारन पोलार्ड १५, डारेन ब्राभो १० र फाबियन एलेनले १५ रन बनाएर लगालग पेभेलियन फर्केपछि दबाबमा आएको वेष्टइन्डिजलाई पूरनले जैसन होल्डरसँग २५ रनको साझेदारी गरेर जितसम्म डोरयाउनुभयो ।
श्रीलङ्काका लागि नुवान प्रदीप र थिसारा परेराले सामान दुई दुई तथा लक्षण सन्दाकनले एक विकेट लिनुभयो ।
यसअघि, सर भिभियन रिचर्डस रङशाला एन्टिगामा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको श्रीलङ्काले ओपनर दनुष्का गुणातिलाकाको ९६ र दिनेश चन्दीमलको ७१ रनको पारीमा औसत योगफलसम्म पुग्न सफल भयो । पुछारमा हषरङ्गा डी सिल्भाले मात्र ३१ बलमा ४७ रनको पारी खेल्नुभयो । लक्षण सन्दाकन २ र दुश्मान्था चमीराले एक रन बनाएर अविजित रहँदा श्रीलङ्काले ५० ओभरमा आठ विकेटको क्षतिमा २७३ रनको औसत योगफल तयार गर्यो ।
वेष्टइन्डिजका लागि जैसन मोहम्मदले सर्वाधिक तीन विकेट लिनुभयो । अल्जारी जोसेफले दुई तथा जैसन होल्डर र अकिल होसैनले एक विकेट लिनुभयो ।
एभिन लेविस प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।