गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २ गते । अफगानिस्तानले जिम्बाबवे विरुद्धको दोस्रो टेष्ट खेल जितेको छ । अफगानिस्तानको जितसँगै दुई खेलको टेष्ट श्रृखंला १–१ को बराबरीमा सकिएको छ ।
जिम्बाबवेले प्रस्तुत गरेको १०८ रनको लक्ष्य अफगानिस्तानले पाँचौं तथा अन्तिम दिनमा चार विकेटको क्षतिमा पुरा गर्यो । अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ५८ रनको योगदान दिनुभयो । इब्राहिम जर्दनले २९ रन बनाउनुभयो । जिम्बाबवेका लागि ब्लेसिंग मुजरबानी र रयान बर्लले सामान दुई दुई विकेट लिनुभयो ।
त्यसअघि, अबुधाबीमा टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अफगानिस्तानले हश्मतुल्लाह शाहिदीको दोहोरा शतक तथा अशगर अफगानको १६४ रनको सहयोगमा पहिलो पारी चार विकेटको क्षतिमा ५४५ रन बनाएर घोषणा गर्यो । जवाबमा जिम्बाबवेले मात्र २८७ रनमा समेटिन पुग्यो । जिम्बाबवेका लागि सिकन्दर राजाले सर्वाधिक ८५ तथा प्रिन्स मसभौरेले ६५ रनको पारी खेल्नुभयो ।
अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक चार तथा साएद शिरजादले दुई र आमीर हाम्जाले तीन विकेट लिनुभयो ।
पहिलो पारीमा २५८ रनले पछाडि परेको जिम्बाबवेले फ्लो अन पाएर दोस्रो पारीमा ३६५ रन बनाएपछि अफगानिस्तानले १०८ रनको लक्ष्य पाएको थियो । जिम्बाबवेको पारी कप्तान सीन विलियम्सले शतक पुरा गर्दै १५१ रन बनाएपनि जितका लागि पर्याप्त भएन । डोनाल्ड ट्रिपानोले ९५ रन बनाउनुभयो ।
अफगानिस्तानको बलिङ्गमा राशिद खानले ६२ ओभर बलिङ गरेर सर्वाधिक सात विकेट लिनुभयो । सैएद शिरजाद, आमीर हाम्जा र जावेद अहमदीले एक एक विकेट लिनुभयो ।
जिम्बाबवेका सीन विलियम्स प्लेयर अफ द् सेरिज तथा हश्मतुल्लाह शाहिदी प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।